काठमाडौं । डा. बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले आगामी अक्टोबर ११ देखि १४ सम्म काठमाडौंमा १२औँ महाधिवेशन गर्ने घोषणा गरेको छ ।
सङ्घको सचिवालय बालुवाटारमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनको बारेमा जानकारी दिएको हो । महाधिवेशन गर्नका लागि अधिवक्ता डा. राजेन्द्र घिमिरेको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । गत शुक्रबार बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को बैठकले अधिवक्ता डा. घिमिरेको संयोजकत्वमा निर्वाचन समिति गठन गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष डा. बद्री केसीले जानकारी दिए । उनका अनुसार निर्वाचन समितिमा बेलायतबाट सङ्घका संस्थापक सचिव चिरञ्जीवी ढकालसहित टिबी कार्की, प्रितम श्रेष्ठ, होम पाण्डे, प्रकाश सापकोटा र रजनी प्रधान सदस्य रहेका छन् ।
यस्तै, सङ्घको निर्वाचन प्रक्रिया अनुगमन गर्न रामप्रताप थापाको संयोजकत्वमा निर्वाचन अनुगमन समिति गठन गरिएको छ । उक्त समितिमा सञ्जय थापा, टेकराज निरौला, कमलमणि गुरागाईँ, नारायण काफ्ले, अतुल कोइराला र मुक्त गुरुङ सदस्य छन् । यस्तै, भीम उदास, भक्त गुरुङ, डा देवी बस्नेत, ओम गुरुङ, शमशेर थापा, यास्मीन बेगम र पुरुषोत्तम बोहरा सदस्य रहेको न्यायिक समिति पनि गठन गरिएको छ । सङ्घको विधानअनुसार अन्तर्राष्ट्रिय महाधिवेशन हुन तीन महिना अगावै यी समितिहरू गठन गर्नुपर्ने कानुनी प्रावधान छ ।
अध्यक्ष डा. केसीले एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनका लागि ७२ हजार सदस्य बनिसकेको बताए । उनले ‘मेम्बरसिप इन्फरमेसन सिस्टम’मार्फत सदस्यता वितरण गरिरहेको बताउँदै पाँच हजार जनाको सदस्यता अझै स्वीकृत हुन बाँकी रहेको जानकारी दिए । ‘जापानबाट मात्रै १८ हजारभन्दा बढी सदस्य छन् । अस्ट्रेलियाबाट साढे १५ हजार सदस्य बनेका छन् । विभिन्न देशमा अझै सदस्यता जारी छ र यो संख्या अझ बढ्दै छ । यो वास्तवमा हामीप्रतिको विश्वास पनि हो,’ उनले भने, ‘विभिन्न देशमा अझै सदस्यता जारी छ र यो संख्या अझ बढ्दै छ । यो वास्तवमा हामीप्रतिको विश्वास पनि हो ।’
यस्तै, उनले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूमा राष्ट्रिय महाधिवेशन भइरहेको जानकारी दिए । उनका अनुसार हालसम्म १५ एनसीसीको अधिवेशन सम्पन्न भइसकेको छ भने बाँकी देशमा अधिवेशन हुने क्रममा छ । एनसीसीलाई विधानतः जुलाई १ देखि ३१ सम्म राष्ट्रिय अधिवेशन गरिसक्नुपर्ने बाध्यात्मक प्रावधान छ । यस्तै, उनले गैरआवासीय नेपाली संघको वैधानिकता आफूसँगै रहेको बताए । संघको ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट आफू वैधानिक तवरले निर्वाचित भएको र सम्मानित सर्वोच्च अदालतले समेत यसै कार्यसमितिलाई वैधानिक मान्यता प्रदान गरिसकेकोले अब विवाद गरेर बस्न उपयुक्त नभएको बताए ।
यस्तै, उनले विवाद सिर्जना गरेर संघ छाडेर जानेहरूलाई पनि मूलधारमा आउन आह्वान गरे । आगामी महाधिवेशनले सबैलाई एक ठाउँमा ल्याउने र त्यसको लागि प्रयत्न भइरहेको पनि उनले बताए ।

