गायक एकोनको वाकान्डा स्ट्याइलको ६ अर्ब डलरको परियोजना रद्द

काठमाडौं । गायक एकोनले सेनेगलमा बनाउने भनेर सपना देखेको भविष्यवादी सहरको योजना रद्द गरिएको छ । यसको सट्टा एकोनले यथार्थपरक परियोजनामा काम गर्ने योजना बनाएको बीबीसील उल्लेख गरेको छ ।

‘अब एकोन सिटी परियोजना अस्तित्वमै छैन,’ सेनेगलको पर्यटन विकास निकाय सापको ( सापको) का प्रमुख सेरिन ममाडु मबुपले बताए।

सापको र उद्यमी अलिउन बादारा थियम (एकोन) बीच एक सहमति भएको छ। सापकोले भनेको छ, ‘उनी अहिले हामीसँग जुन योजना तयार पार्दै छन्, त्यो यथार्थमा आधारित छ, जसलाई सापकोले पूर्ण समर्थन गर्नेछ।’

सन् २०१८ मा एकोनले अफ्रिकी समाजको भविष्य प्रतिनिधित्व गर्ने दुई महत्वाकांक्षी परियोजना घोषणा गरेका थिए। अमेरिकामा जन्मिए पनि आंशिक रूपमा सेनेगलमा हुर्केका एकोन २००० को दशकका चर्चित गीतहरूमार्फत प्रसिद्ध भएका हुन् ।

पहिलो परियोजना थियो एकोन सिटी जसको लागत झन्डै ६ अर्ब अमेरिकी डलर हुने बताइएको थियो। यो सहर एकोनको दोस्रो परियोजना ‘एकोइन’ नामक नयाँ क्रिप्टोकरेन्सीको माध्यमबाट सञ्चालन हुने भनिएको थियो।

एकोन सिटीका प्रारम्भिक डिजाइनहरू, जसमा घुमाउरा आकृतिका गगनचुम्बी भवनहरू थिए, मार्भलको ‘ब्ल्याक प्यान्थर’ फिल्म र कमिकको काल्पनिक शहर वाकान्डासँग तुलना गरिएको थियो।

तर पाँच वर्षसम्म विभिन्न अवरोध झेलिसकेपछि राजधानी डाकारबाट करिब १०० किलोमिटर टाढा पर्ने एम्बोडिएनको ८०० हेक्टर क्षेत्रफलको जग्गा प्रायः खाली छ। त्यहाँ एउटा अपूरो स्वागत भवन बाहेक अन्य संरचना छैन। न त बाटो छ, न बासस्थान, न विद्युत् आपूर्ति प्रणाली।

‘हामीलाई रोजगारी र विकासको आश्वासन दिइएको थियो,’ एक स्थानीय बासिन्दाले बीबीसीलाई भने, ‘तर यहाँ केही पनि परिवर्तन भएको छैन।’

यसबीच, एकोनको क्रिप्टोकरेन्सी ‘एकोइन’ ले पनि वर्षौसम्म लगानीकर्तालाई विश्वास दिलाउन सकेन। आफैंले पनि स्वीकार गर्दै एकोनले भने, ‘यसको व्यवस्थापन राम्रोसँग भएको थिएन । त्यसको सम्पूर्ण जिम्मेवारी म लिन्छु।’

त्यसैगरी, ‘एकोइन’ प्रयोग गरेर एकोन सिटीभित्रका बासिन्दाले कानुनी रूपमा कारोबार गर्न सक्ने वा नसक्ने भन्ने प्रश्न पनि उठाइएको थियो। सेनेगलमा सीएफए फ्राङ प्रचलित मुद्रा हो, जुन पश्चिम अफ्रिकी राष्ट्रहरूको केन्द्रीय बैंक (बीसीईएआ)द्वारा जारी तथा नियन्त्रित हुन्छ। र, अधिकांश केन्द्रीय बैंकजस्तै बीसीईएओले पनि क्रिप्टोकरेन्सीको प्रयोगमा आपत्ति जनाउँदै आएको छ।

एकोन सिटीको योजना विशाल थियो।

पहिलो चरणमा मात्र अस्पताल, शपिङ मल, विद्यालय, प्रहरी चौकी, फोहोर व्यवस्थापन केन्द्र र सौर्य ऊर्जा केन्द्र निर्माण गरिने भनिएको थियो। यो सन् २०२३ को अन्त्यसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको थियो।

सेनेगलको अटलान्टिक तटमा बन्ने यो उच्च प्रविधियुक्त, वातावरणमैत्री सहर पूर्णरूपमा नवीकरणीय ऊर्जामा सञ्चालन हुने योजना थियो।

तर २०२२ मा बीबीसीलाई दिएको अन्तर्वार्तामा ‘यो परियोजना एक लाख प्रतिशत अघि बढिरहेको छ,’ भन्ने एकोनको दाबीका बाबजुद औपचारिक उद्घाटन समारोहपछि उल्लेखनीय निर्माण कार्य अघि बढ्न सकेको थिए ।

अहिले सेनेगल सरकारले पुष्टि गरिसकेको छ कि परियोजना ठप्प भएर अब पुनः सुरु गर्न असम्भव भइसकेको छ। अधिकारीहरूका अनुसार मुख्य कारण भनेको लगानीको अभाव र निर्माण कार्यको अवरोध हो।

यद्यपि, एकोन सिटीको मूल रूप अब बन्द गरिए पनि सरकारले सोही क्षेत्रमा एकोनसँग मिलेर यथार्थपरक विकास परियोजना अगाडि बढाउने बताएको छ।

एम्बोडिएन नजिकको जग्गा अझै पनि रणनीतिक हिसाबले महत्वपूर्ण मानिन्छ । विशेषगरी सन् २०२६ को यूथ ओलम्पिक खेलहरू नजिकिंदै जाँदा र पर्यटन गतिविधिमा अपेक्षित वृद्धि हुने हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार