हिमालयन बैंकको एफपीओ निष्कासन,आजदेखि आवेदन दिन सकिने

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आज असार ३२ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको हो । यसबाट बैंकले कुल १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ उठाउने लक्ष्य राखेको छ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम वापत् थप गरी प्रतिकित्ता १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गर्न लागेको हो । यो एफपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ७०ः३० कायम गर्नका लागि यो एफपीओ जारी गरेको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने व्यवस्था बमोजिम कम्पनीले एफपीओ जारी गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ ।

हाल कायम चुक्तापूँजीमा संस्थापकतर्फको हिस्सा ७२.९९ प्रतिशत र सर्वसाधारण तर्फको हिस्सा २७.०१ प्रतिशत छ।

निष्कासन बन्द छिटोमा साउन ४ गते हुनेछ । यो अवधिसम्ममा माग बमोजिम आवेदन नपरेमा निष्कासन अवधि साउन १४ गतेसम्म थप गरिनेछ । ।
कम्पनीको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। विक्री प्रबन्धकसँगै आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत पनि आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाईन मार्फत पनि आवेदन दिन सकिनेछ ।

हिमालयन बैंक २०४८ साल फागुन ४ गते पब्लिक कम्पनीको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई २०४८ साल फागुन ६ गतेदेखि नेपाल राष्ट्र बैंकबाट क वर्गको वित्तीय संस्थाको रुपमा काम गर्न इजाजत प्राप्त कम्पनी हो । यस कम्पनीले साविक सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरी २०७९ साल फागुन १२ गतेदेखि एकिकृत कारोबार सुरु गरेको थियो । यस कम्पनीका संस्थापकहरुमा वित्तीय क्षेत्र एवम् व्यवस्थापनमा लामो समयदेखि काम गरेका प्रतिष्ठित व्यक्तिहरु रहेका छन् । कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा रहेको छ भने देशभर १७५ शाखा कार्यालबाट सेवा प्रदान गर्दै आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार