काठमाडौं । कर्मचारी सञ्चय कोषले आर्थिक बर्ष २०८२\०८३ को पहिलो दिन साउन १ गतेबाट लागू हुने गरी सञ्चयकर्तालाई प्रदान गर्ने वार्षिक ब्याजदर र सञ्चयकर्ता सापटीहरूमा कोषले लिने वार्षिक ब्याजदर परिवर्तन गरी नयाँ ब्याजदर निर्धारण गरेको छ ।
कोष सञ्चालक समितिले २०८२ साल साउन १ गतेदेखि लागू हुने गरी कोषले सञ्चयकर्ताहरूलाई सञ्चय कोष रकम र निवृत्तभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याजदर ५ प्रतिशत निर्धारण गरेको हो ।
यसैगरी, कोषले सञ्चयकर्ताहरूलाई प्रदान गर्ने सापटीहरूमा लिने ब्याजदरमध्ये विशेष सापटीमा ६.२५ (छ दशमलव दुई पाँच) प्रतिशत, घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ७.२५ (सात दशमलव दुई पाँच) प्रतिशत र जग्गा खरिद सापटी तथा सरल सापटीमा ७.५० (सात दशमलव पाँच शून्य) प्रतिशत निर्धारण गरेको छ ।
विशेष सापटी बाहेकका धितोमा आधारित सापटीको ब्याज नियमित रूपमा चुक्ता गर्ने सञ्चयकर्ताहरूले ०.२५ प्रतिशतले छूट ९च्भदबतभ० पाउने व्यबस्था गरेको संचयकोषले जनाएको छ ।
कोषले सञ्चयकर्ताहरूलाई घर निर्माण गर्न र घर तथा जग्गा खरिदका लागि एक करोडसम्म र घर मर्मत गर्नका लागि ३० लाखसम्म सापटी प्रदान गर्ने गरेको छ ।
यस्तै, कोषले सञ्चयकर्ता स्वयम् वा पति÷पत्नी वा छोरा-छोरीलाई उच्च शिक्षा अध्ययन गर्ने-गराउने प्रयोजनका लागि शैक्षिक सापटी. ४० लाखसम्म र सञ्चयकर्ताको सेवाअवधिमा भैपरी आउने कार्यका लागि दिइने सरल सापटी ६० लाखसम्म प्रदान गर्दै आएको छ ।
साथै, कोषले सञ्चयकर्ताहरूको खातामा जम्मा भएको रकमको सुरक्षणमा ९० प्रतिशतसम्मको रकम विशेष सापटीको रूपमा प्रदान गर्ने गरेको छ ।
कोषबाट आर्थिक बर्ष २०८१\०८२ मा १ लाख ५८ हजार ३४४ सञ्चयकर्ताले विशेष सापटी, १ लाख १४ हजार ४५६ सञ्चयकर्ताले कोष भुक्तानी, २ हजार ९२६ सञ्चयकर्ताले धितोमा आधारित सापटी, २५ हजार २९८ सञ्चयकर्ताले सामाजिक सुरक्षा सुविधा र १ हजार ७९१ सञ्चयकर्ताले योगदानमा आधारित निवृत्तभरण भुक्तानी लिएका कोषले उल्लेख गरेको छ ।
काठमाडौं उपत्यका सहित सातै प्रदेशमा रहेका कोषका शाखा कार्यालय र सेवा केन्द्रहरू मार्फत सञ्चयकर्ताहरूलाई विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरल सापटी, घर मर्मत सापटी र जग्गा खरिद सापटी प्रदान गर्ने कार्य हुँदै आएको छ ।
हाल कोषमा निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सार्वजनिक संस्थान र सङ्गठित क्षेत्र तथा सामुदायिक एवम् संस्थागत विद्यालयतर्फका गरी करिव ५ लाख ८० हजार सञ्चयकर्ता र करिव ९९ हजार ३९१ योगदानकर्ता गरी कूल ६ लाख ७९ हजार ३९१ सञ्चयकर्ता र योगदानकर्ताहरू आवद्ध रहेका छन् ।
दामोदर प्रसाद सुवेदी
प्रवक्ता

