काठमाडौं । सनुचाँदी व्यवसायीको विरोधका बीच चालु आर्थिक वर्षको सुरु अर्थात् बिहीबारदेखि सुन चाँदीको खरिद बिक्रीमा विलासिता कर कार्यान्वयनमा आएको छ ।
चालु आर्थिक वर्षको सुरुदेखि सरकारले आर्थिक विधेयकमार्फत व्यवस्था भए बमोजिम कारोबारको दुई प्रतिशत बराबरको विलासिता कर लाग्न सुरु भएको हो ।
यस्तो कर प्रत्येक कारोबारमा लाग्नेछ । बैंकबाट सुनचाँदी व्यवसायीले किन्दा, व्यवसायीले ग्राहकलाई बेच्दा तथा ग्राहकले व्यवसायीलाई पुनः बिक्री गर्दा समेत यस्तो कर लाग्ने व्यवस्था आर्थिक ऐनमा गरिएको छ ।
अघिल्लो आर्थिक वर्षको १० लाख रुपैयाँभन्दा धेरै खरिदमा मात्रै यस्तो कर लाग्ने व्यवस्था थियो । अब जुनसुकै परिमाणको सुनचाँदी बिक्री गर्दा पनि यो कर तिर्नुपर्नेछ ।
उक्त कर खारेजीको माग गर्दै व्यवसायीहरू आन्दोलनमा रहे पनि सरकारले कार्यान्वयनमा ल्याएको हो । कर पुनरावोलकन गर्ने विषयमा सरकार र व्यवसायीबीच सहमति भए पनि सरकारले समस्या समाधान गरेको छैन ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य १ लाख ९२ हजार ३०० रुपैयाँ छ । विलासिताबापतको दुई प्रतिशत कर लाग्दा उपभोक्ताले ३ हजार ८४६ रुपैयाँ थप तिर्नुपर्छ । यसरी सरकारले करको व्यवस्था गर्दा उपभोक्ता मारमा पर्ने व्यवसायीहरुको भनाई छ ।

