काठमाडौं । आजदेखि नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु भएको छ । गत जेठ १५ मा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएको बजेट आजदेखि कार्यान्वयनमा आएको हो । अर्थ मन्त्रालयले यस आवमा बजेट कार्यान्वयन मार्गदर्शन बनाइसकेको छ ।
आज साउन १ गते नै सबै मन्त्रालय, विभाग, निकायहरूलाई सर्कुलर गरेर बजेट कार्यान्वयनमा लैजाने अर्थमन्त्रालयले जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आव २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएका छन् ।
सरकारले अगामी वर्षामा चालु शीर्षकमा ११ खर्ब ८० अर्ब, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ खर्च गर्ने योजनासहित बजेट छुट्याएको छ । उक्त बजेटका लागि स्रोतका रूपमा राजश्वबाट १३ खर्ब १५ अर्ब रुपैयाँ, वैदेशिक अनुमानबाट ५३ अर्ब ४५ करोड रुपैयाँ व्यहोरिने सरकारी योजना छ ।
यस्तै, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब रुपैयाँ र आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट व्यहोर्ने योजना छ । सरकारले जेठ १५ मा २०८२/८३ का लागि ल्याएको बजेटमध्ये करसम्बन्धी व्यवस्था कार्यान्वयनमा गइसकेका छन् ।
बजेटले अघिल्लो वर्षको तुलनामा करिब ३४ प्रतिशतले राजस्व वृद्धि गर्ने महत्वाकांक्षी लक्ष्य लिएको छ, जसका लागि कर प्रणाली सुधार, दायरा विस्तार र नीतिगत कडाइलाई प्राथमिकता दिइएको छ।
आर्थिक वर्ष २०८१/८२ मा सरकारले कुल ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो अघिल्लो वर्ष २०८०/८१ को तुलनामा १ खर्ब २० अर्ब रुपैयाँले बढी हो, जसले ११.३३ प्रतिशतको वृद्धि दर्शाउँछ। अघिल्लो वर्ष १० खर्ब ५८ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो। सरकारले २०८१/८२ का लागि सुरुमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर अर्धवार्षिक समीक्षापछि उक्त लक्ष्य परिमार्जन गरी १२ खर्ब ८६ अर्बमा झारिएको थियो। संशोधित लक्ष्य अनुसार सरकार ९१.६० प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ।
आर्थिक वर्ष २०८२/८३ मा सरकारको राजस्व संकलन लक्ष्य १३ खर्ब १५ अर्ब रुपैयाँ निर्धारण गरिएको छ। यो अघिल्लो वर्षको संकलनभन्दा झन्डै १ खर्ब ३६ अर्ब रुपैयाँले बढी हो, जुन लक्ष्य प्राप्तिका लागि सरकार अझ सक्रिय रूपमा अघि बढ्ने बताइएको छ।
सरकारले बजेट कार्यान्वयनमा लगेर आर्थिक गतिविधि विस्तार, निजी क्षेत्रको लगानी वृद्धि, रोजगारीको अवसर वृद्धि, पूर्वाधार आयोजना निर्धारित समयमै सम्पन्न हुने सहित ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ ।

