अघिल्लो आर्थिक बर्ष नेप्सेमा २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको कारोबार

काठमाडौं । आर्थिक वर्ष २०८१\८२ मा धितोपत्रको दोस्रो बजार कारोबारमा ऐतिहासिक रेकर्ड कायम भएको नेपाल स्टक एक्चेन्ज नेप्सेले जनाएको छ  । बजारका अन्य परिसूचकमा पनि उक्त आर्थिक वर्षमा उल्लेख्य सुधार भएको उल्लेख गरेको छ  ।

नेपाल स्टक एक्चेन्जको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०-८१ मा ७ खर्ब ३४ अर्ब ६८ करोड बराबरको धितोपत्रको कारोबार भएकोमा आर्थिक वर्ष २०८१-८२ मा  २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको कारोबार भएको छ । कारोबार रकम आर्थिक वर्ष २०८०-०८१ को तुलनामा १८९.२३ प्रतिशतले बढी हो । यस अघि आर्थिक वर्ष २०७७-७८ मा सबैभन्दा धेरै रकम (रु.१४ खर्ब ५४ अर्ब ४४ करोड) को कारोबार भएको थियो ।

२०८१ को असार मसान्तमा ३५ खर्ब ५३ अर्ब ६७ करोड रहेको बजार पुँजीकरण २०८२ असार मसान्तमा ३१.०५ प्रतिशतले वृद्धि भई ४६ खर्ब ५६ अर्ब ९८ करोड पुगेको छ ।

आर्थिक वर्ष २०८१-८२ को अन्तसम्ममा सूचीकृत कम्पनीको संख्या २७२ पुगेको छ । उक्त आर्थिक वर्षमा मर्जर तथा एक्विजिसनका कारण ३ कम्पनी सूचीकरणबाट हटेका छन् भने प्रथम सार्वजनिक निष्कासन मार्फत ४ वटा कम्पनी थपिएका छन् । प्रथम निष्कासन मार्फत ३ करोड ६५ लाख कित्ता सेयर, थप निष्कासन मार्फत ११ लाख २० हजार कित्ता सेयर, सरकारबाट थप गरिएको तथा स्थानीयलाई वितरण गरिएको ४ करोड ३२ लाख ५८ कित्ता सेयर, सामुहिक लगानी कोषका ३७ करोड ८१ लाख एकाई र संस्थागत ऋणपत्र ८३ लाख कित्ता गरी जम्मा ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकृत भएका छन् ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आर्थिक वर्ष २०८१-८२ मा भएको उत्साहजनक कारोबारका लागि नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, अन्य नियामक निकाय, कारोबार सदस्य, सूचीकृत कम्पनी, मर्चेन्ट बैंकर, सिडिएस एन्ड क्लियरिंग लिमिटेड, लगानीकर्ता, सञ्चारकर्मी सहित पुँजी बजारका सरोकारवालालाई नेपसेले धन्यबाद ज्ञापन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार