काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय कारोबारमा सात वटा प्रदेशहरुमा सबैभन्दा अगाडिक बाग्मती प्रदेश रहेको बताएको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन आर्थिक वर्ष २०८१÷८२ अर्ध वार्षिक एकीकृत प्रतिवेदन सार्वजनिक गर्दै सो कुरा बताएको हो ।
२०८१ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सङ्कलन गरेको कुल निक्षेप २०८० पुस मसान्तको तुलनामा ९.०३ प्रतिशतले वृद्धि भई ६६ खर्ब ८२ अर्ब ६२ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप १४.८३ प्रतिशतले वृद्धि भई ६१ खर्ब २९ अर्ब ३१ करोड पुगेको थियो ।
२०८० पुस मसान्तको तुलनामा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा २०८१ पुस मसान्तमा १५.९८ प्रतिशतले वृद्धि भई ५४ खर्ब ३२ अर्ब १ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो कर्जामा २.७० प्रतिशतले ह्रास आई ४६ खर्ब ८३ अर्ब ६८ करोड पुगेको थियो । २०८१ पुस मसान्तमा कुल कर्जा र कुल निक्षेप अनुपात ८१.२९ प्रतिशत रहेकोमा २०८० पुस मसान्तमा ७६.४१ प्रतिशत रहेको थियो ।
२०८१ पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेपमा बागमती प्रदेशबाट परिचालन गरिएको निक्षेपको अंश सबैभन्दा धेरै ६६.९६ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको १.११ प्रतिशत रहेको छ अर्थात् समिक्षा अवधिमा सबैभन्दा धेरै निक्षेप संकलन बाग्मती प्रदेशको ४४ खर्ब ७४ अर्ब ६० करोड र सबैभन्दा कम निक्षेप संकलन कर्णाली प्रदेशको ७४ अर्ब २८ करोड रहेको छ ।
त्यसैगरी, बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जाको सबैभन्दा बढी कर्जा बागमती प्रदेशमा ५९.३० प्रतिशत प्रवाह भएको छ भने सबैभन्दा कम कर्जा कर्णाली प्रदेशमा १.०९ प्रतिशत प्रवाह भएको छ अर्थात् बाग्मतीमा सबैभन्दा बढी ३२ खर्ब २१ अर्ब र सबैभन्दा कम कर्णालीमा ५९ अर्ब २२ करोड कर्जा प्रवाह भएको छ ।


