काठमाडौं । होटेल सारथी पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । होटेल सारथी प्रा.लि.को विशेष साधारणसभाले कम्पनीलाई प्रा. लि बाट पब्लिक बनाउने निर्णय गरेसँगै सारथी लिमिटेड कायम गरेको थियो ।
साविक कम्पनीको नाममा सिर्जना भएका सम्पूर्ण चल-अचल सम्पत्ति र दायित्व परिवर्तित कम्पनीले बेहोर्ने/सकार्ने गरी कम्पनीको किसिम परिवर्तन गर्न कम्पनी रजिष्ट्रार कार्यालयले असार ३१ गते स्वीकृति प्रदान गरेको कम्पनी सचिव ज्योति दाहालले जानकारी दिएका छन् l
प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै कम्पनीले प्राथमिक शेयर जारी गर्ने प्रक्रिया अगाडि बढाएको । कम्पनीले आईपीओ निष्काशन गर्नको लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धक चयन गरिसकेको छ । कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण शेयर जारी गर्नेछ । आईपीओ जारीपश्चात कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ ।
आर्थिक वर्ष २०८२/०८३ भित्र नै पुँजीबजारमा सूचीकृत हुने कम्पनीको लक्ष्य छ । यसबाट नयाँ लगानीकर्ताले होटेल तथा पर्यटन क्षेत्रको कम्पनीमा लगानीका लागि नयाँ अवसर पाउने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
सारथि होटलको बारेमा
२०७२ सालमा स्थापना भएको होटेल सारथी धुलिखेल-८, रिसोर्ट मार्ग, काभ्रेपलाञ्चोकमा रहेको तीनतारे होटेल हो । निकट भविष्यमै चार तारेमा स्तरवृद्धि हुन लागेको छ l एउटा प्रेसिडेन्सीयल, ६ वटा सुइट, ५० वटा प्रिमियम डिलक्स, २३ वटा डिलक्स गरि ८० वटा कोठा सञ्चालनमा रहेका छन् l ४०० जनासम्मको क्षमता भएको ठुला-साना गरि ४ वटा सभा हल रहेको छ l
होटेल भवनको सातौँ तल्लामा ‘रुफटप इन्फिनिटी स्वीमिङ पुल विथ पुल बार’ रहेको छ । यहाँबाट लाङटाङ हिमश्रृंखला र गौरीशंकर हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । जाडोमा स्वीमिङ पुलको पानीलाई तताउने प्रबन्धसमेत मिलाईएको छ । स्पा र फिटनेस सेन्टरसमेत संचालनमा ल्याएको छ ।
होटेललाई विवाह मण्डपकोरुपमा विकास गर्दै सारथीले गौरवमय उपस्थिति जनाईसकेको छ । भारतीय र मुलुककै विभिन्न शहरका नागरिकले होटललाई विवाहका लागि गन्तव्य बनाएका छन् l आगामी दिनमा होटेल सारथी विवाहको लागि उत्कृष्ट स्थल बन्ने लक्ष्य लिएको जनाएको छl अन्तर्राष्ट्रिय सभा सम्मेलन गोष्ठीका लागि पनि होटेल सारथी अग्रिम बुकिंग थलो बनेको छ ।
होटेलले सारथीले शुरुआतदेखि नै पर्यावरणलाई ध्यानमा राख्दै फोहोर पानीको पुन:उपयोगलाई कार्यान्वयन गर्दै आएको छ । होटलबाट निष्कासित फोहोर पानीलाई होटल परिसरमै रहेको सिवरेज ट्रिटमेन्ट (एसटि) प्लान्ट मार्फत ३३ हजार लिटर क्षमताको ट्यांकमा प्रशोधन गर्ने गरेको छ । प्रशोधित पानी होटलकै स्वामित्वमा रहेको जग्गामा अर्गानिक खेतीमा उपयोग हुँदै आएको छ ।
होटलले उपलब्ध गराउने मेनुमा स्थानीयरूपमा उपलब्ध खाद्य सामग्रीलाई प्राथमिकता दिँदै आएको छ । हाल होटलमा प्रत्यक्षरुपमा रोजगारी पाएका ७३ जनामध्ये ९० प्रतिशतभन्दा बढी स्थानीय छन् । स्थानीयस्तरमै रोजगारी, सीप विकास र पेशागत क्षमता वृद्धिमा समेत सारथीले योगदान गरेको छ । सारथी समूहअन्तर्गत होटेल सारथी प्रा.लि., सारथी मार्ट प्रा.लि., सारथी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, सारथी वेलफेयर फाउण्डेशन, हिमालय इन्टरनेसनल एकेडेमी, धुलिखेल तालिम सेवा केन्द्र प्रा.लि., सारथी भेन्चर्स प्रा.लि., सारथी एडभेन्चर्स प्रा.लि र सारथी होलिडेज रहेका छन् ।
जिल्लाबाहिर उपस्थित जनाउँदै सारथी समूहको सारथी भेन्चर्स प्रा.लि. ले चितवनको सौराहास्थित बद्रेनी जङ्गल रिसोर्ट प्रा.लि. को ६५ प्रतिशत शेयर लिएको छ । रिसोर्टको सम्पूर्ण व्यवस्थापन होटेल सारथीले गरिरहेको छ । उक्त रिसोर्ट २०२५ जनवरीदेखि सारथी समूहले लिएको हो ।

