भुक्तानी सेवा प्रदायकलाई लाभांश वितरणमा राष्ट्र बैंकको पूर्व स्वीकृति अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्था (बैंक तथा वित्तीय संस्थाबाहेक) हरूका लागि ‘लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२’ जारी गरेको छ । राष्ट्र बैंकले आज आइतबार यो मार्गदर्शन सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकका अनुसार, मुनाफाको बाँडफाँड तथा लाभांश वितरणसम्बन्धी व्यवस्थालाई पारदर्शी एवं थप व्यवस्थित बनाउने अभिप्रायले यो मार्गदर्शन जारी गरिएको हो। यसको कार्यान्वयनबाट संस्थाहरूले आर्जन गरेको मुनाफाको वितरण तथा पुनः लगानी थप प्रभावकारी भई सम्बन्धित संस्थाको जोखिम बहन गर्न सक्ने क्षमता र कार्यक्षमताको वृद्धि तथा विकास हुनेछ। यसले सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकासमा टेवा पुग्ने विश्वास राष्ट्र बैंकले लिएको छ ।

लाभांश नीति र कोषको व्यवस्था अनिवार्य

मार्गदर्शन अनुसार, संस्थाले लाभांश वितरणसम्बन्धी नीति तर्जुमा गरी लागू गर्नुपर्नेछ । यस्तो नीति संस्थाको सञ्चालक समितिबाट पारित भएको हुनुपर्नेछ । लाभांश नीतिमा नियामकीय पुँजी कायम गर्ने सम्बन्धमा संस्थाको योजना र प्राथमिकतासम्बन्धी विवरण, नगद लाभांश र शेयर लाभांश वितरणसम्बन्धी नीति, जोखिम बहन कोषको व्यवस्था तथा जगेडा कोषको व्यवस्था हुनुपर्नेछ ।

संस्थाले यस्ता कोषमा मुनाफाको निश्चित प्रतिशत रकम छुट्याउने सम्बन्धमा उल्लेख गर्नुपर्नेछ। जोखिम बहन कोषको रकम संस्थालाई अप्रत्याशित रूपमा आइपर्ने घटनाबाट हुने क्षतिको व्यवस्थापनका लागि प्रयोग गर्न सकिनेछ । कोषहरूबाट भएको खर्चको विवरण राष्ट्र बैंकलाई जानकारी गराउनुपर्नेछ ।

यसैगरी, भुक्तानी प्रणाली सञ्चालकले पूर्वाधार विकास कोषको समेत व्यवस्था गरी मुनाफाको निश्चित प्रतिशत रकम कोषमा जम्मा गर्ने व्यवस्था गर्नुपर्नेछ। यस्तो कोषको रकम संस्थाको पूर्वाधार विस्तारमा खर्च गर्न सकिनेछ।

लाभांश वितरणका लागि पालना गर्नुपर्ने पूर्वशर्तहरू

-लाभांश वितरणका लागि संस्थाको वित्तीय अवस्था सबल हुन आवश्यक हुन्छ। यसका लागि अनुमतिपत्र प्राप्त संस्थाले कम्तीमा देहायका पूर्वशर्तहरू पालना गर्नुपर्दछ:

-लाभांश घोषणा गर्दा सञ्चित मुनाफा ऋणात्मक नरहेको हुनुपर्ने।

-संस्था मुनाफामा भएको वर्षको वित्तीय विवरणका आधारमा मात्र लाभांश घोषणा गर्नुपर्ने।

-शेयर प्रिमियम एवं Bargain Purchase Gain बाट नगद लाभांश घोषणा गर्न नपाइने एवं शेयर लाभांश वितरण गर्दा संस्थाको Net Worth ऋणात्मक नरहेको हुनुपर्ने।

-नगद लाभांश घोषणा गर्दा पर्याप्त नगद मौज्दात रहेको हुनुपर्ने।

-संस्थाले उपभोग गरेको कर्जासँग सम्बन्धित शर्तहरू (Loan Covenants) ले लाभांश वितरण बन्देज गरेको अवस्था नरहेको हुनुपर्ने।

-राष्ट्र बैंकबाट भएको स्थलगत एवं गैरस्थलगत निरीक्षणका क्रममा वित्तीय दायित्व सिर्जना हुन सक्ने गम्भीर प्रकृतिका कैफियत रहेको अवस्था नरहेको हुनुपर्ने।

-लाभांश वितरणका लागि वित्तीय विवरण प्रकाशन गर्ने स्वीकृतिसँगै लाभांश प्रस्ताव समेत समावेश गरी राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार