काठमाडौं । आइपीओ निष्कासनको तयारीमा रहेको दाउन्ने एग्रो फार्म लिमिटेडले गत वर्षको ९ महिनामा १ अर्ब १० करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष (सन् २०२४) मा कम्पनीले १ अर्ब २१ करोड, सन् २०२३ मा १ अर्ब १४ करोड ८० लाख, सन् २०२२ मा ५० करोड र सन् २०२१ मा ५४ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ ।
इक्राले पोल्ट्री व्यवसायमा इनहेरिट रिक्स अर्थात् बर्ड फ्लु, कच्चा मालको मूल्यमा उतारचढ़ाव र बजार मूल्यमा अनिश्चितता रहेको उल्लेख गर्दै आएको छ । यद्दपि, कम्पनीले क्लोज हाउस प्रणाली, बायो-सिक्युरिटी जस्ता पूर्वाधारमा लगानी गरे पनि जोखिम पूर्ण रुपमा टरेको छैन ।
त्यस्तै, नेपालमा पोल्ट्री उद्योग अझै पनि विखण्डित रहेकाले प्रतिस्पर्धा तीव्र छ । तथापि, नेपाल अण्डा उत्पादक संघमा दाउन्ने एग्रोको प्रतिनिधित्व रहेको र यसले बजार मूल्य नियन्त्रणमा सहयोग गरेकोले २०२४ देखि सञ्चालन नाफा सुधारिएको छ ।
इक्रा नेपालले दाउन्ने एग्रोको सकारात्मक प्रगतिलाई मान्यता दिँदै रेटिङमा सुधार गरेको हो । यद्यपि, कम्पनीले भविष्यमा वित्तीय सुदृढीकरण, ऋण चुकौती क्षमतामा सुधार तथा तरलता व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव समेत दिएको छ ।
कम्पनीले १ अर्ब १५ करोड ५७ लाख रुपैयाँ बैंक कर्जाका लागि रेटिङ गराएको छ । जसमध्ये लङ ट्रम १ अर्ब ७ करोड ५४ लाखका लागि ‘इक्राएनपी एबीबी माइनस र सर्ट ट्रम ‘इक्रा एनपी ए४ रेटिङ पुनः पुष्टि गरेको छ । एजेन्सीले यो सुधार मुख्यतः कम्पनीको आम्दानीमा देखिएको उल्लेखनीय वृद्धिलाई ध्यानमा राख्दै गरेको हो ।

