काठमाडौं । प्राइभेट इक्विटी फन्ड र भेन्चर्स क्यापिटलहरुलाई समयावधि सकिएपछि लगानीमा रहेको सेयर सहज ढंगले बिक्री गरी लगानी फिर्ता लैजाने सक्ने व्यवस्था गरिने भएको छ । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८२-८३ का लागि सार्वजनिक गरेको धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम यस्तो व्यवस्था गरिने जनाएको छ ।
साथै, प्राइभेट इक्विटी फन्ड र भेन्चर्स क्यापिटलहरुको स्वामित्वमा रहेको धितोपत्रको लकइन अवधि सेयर बाँडफाँट भएपछिको मितिबाट २ वर्षसम्म पुर्याइने भएको छ ।
त्यस्तै, प्राइभेट इक्विटी फन्ड र भेन्चर्स क्यापिटलहरुको कोष व्यवस्थापन शुल्क, दर्ता तथा निष्कासन शुल्क ५० प्रतिशतले घटाइने भएको छ । त्यसैगरी, यी संस्थाहरुलाई विदेशी लगानी थप आउने गरी विशिष्टीकृत लगानी कोषसम्बन्धी नियमावली संशोधन गरिने कुरा पनि उल्लेख छ ।
बोर्डले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नेप्सेको र सीडीएसको पुनः संरचनाको कुरा पनि समेटिएको छ । त्यस्तै, प्रिमियम र बुक बिल्डिङ प्रकृयाबाट सेयर निष्कासनको लागि पारदर्शी विधि अबलम्बन गरिने पनि बोर्डको नीति तथा कार्यक्रम रहेको छ ।

