काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजीको आकार करिब ४१ अर्ब रुपैयाँले बढेको छ । गत आर्थिक वर्ष २०८१/८२ को जेठसम्म बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी ७ खर्ब ६६ अर्ब १० करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोहि अवधिको तुलनामा ४० अर्ब ९९ करोड रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी ७ खर्ब २५ अर्ब १० करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी मात्र नभई पूँजी कोष समेत बलियो अवस्थामा रहेको राष्ट्र बैंकका अधिकारीहरु बताउछन् ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक र विकास बैंकले चुक्ता पूँजीमा वृद्धि गर्दा समग्रमा बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजीको आकार बढेको हो । गत आर्थिक वर्षको जेठसम्म वाणिज्य बैंकको चुक्ता पूँजी ६ खर्ब ८७ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७ अर्ब ८८ करोड रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा वािणज्य बैंकको चुक्ता पूँजी ६ खर्ब ४९ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको जेठसम्म विकास बैंकको चुक्ता पूँजी ६० अर्ब ८२ करोड ७० लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३ अर्ब ७१ करोड ५० लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विकास बैंकको चुक्ता पूँजी ५७ अर्ब ११ करोड २० लाख रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको जेठसम्म वित्त कम्पनीहरुको चुक्ता पूँजी १७ अर्ब ५२ करोड ८० लाख रुपैयाँ रहेको छ । जुन अघिलल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा ६० करोड ४० लाख रुपैयाँले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा वित्त कम्पनीहरुको चुक्ता पूँजी १८ अर्ब १३ करोड २० लाख रुपैयाँ रहेको थियो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी वृद्धिलाई लिएको नीतिका कारण बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी सबल रहेको पाइन्छ । बैंक तथा वित्तीय संस्थाका शेयरमा आर्कषण देखिदाँ ती संस्थाहरुको चुक्ता पूँजी समेत प्रभावित हुन पुगेको हो । बैंक तथा वित्तीय विशेष गरी वाणिज्य बैंक र विकास बैंकको सेयर किन्ने सदस्यहरु बढेका छन् अर्थात् संस्थापक शेयर र साधारण शेयरमा समेत आर्कषण देखिएको छ । पूँजी कोष सबल राख्नका लागि बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने क्षमतामा समेत सुधार गरी बजारमा आफूलाई बलियो देखाउने गरेको बैंकरहरु बताउछन् । उनीहरुका अनुसार राष्ट्र बैंकको नियमन र बैंक तथा वित्तीय संस्थाले गरेको तलरता (लगानीयोग्य रकम) व्यवस्थापनका कारण पनि चुक्ता पूँजीको कोषमा सुधार देखिएको हो ।

