काठमाडौं । सेयर कारोबार गर्ने लगानीकर्ताले पछिल्लो ९ वर्षमा सरकारलाई आधा खर्ब अर्थात, ५३ अर्ब ६ करोड रुपैयाँ भन्दा धेरै रकम पुँजीगत लाभकर बुझाएका छन् । गत आर्थिक वर्ष (२०८१-८२) मा मात्रै लगानीकर्ताले १६ अर्ब ५४ करोड ३७ लाख रुपैयाँ बराबरको रकम सरकारलाई बुझाएका छन् । यो हालसम्मकै उच्च हो ।
सेयर बजारमा सुधार, कारोबार वृद्धि, लाभ धेरै हुँदा र नयाँ लगानीकर्ताको आकर्षण बढ्दा सेयर बजारमा सक्रिय लगानीकर्ताहरुले हालसम्मकै उच्च पुँजीगत लाभकर बुझाएका हुन् । यो प्रवृत्तिले एकातर्फ लगानीकर्ताको आम्दानी बढेको संकेत गर्छ भने अर्कोतर्फ सरकारको राजस्व प्रणाली मजबुत बन्दै गएको देखाउँछ ।
यदि यही सुधारक्रम कायम रह्यो भने आगामी वर्षहरुमा पनि सेयर बजार र सरकार दुवै लाभान्वित हुने सम्भावना उच्च देखिन्छ । अघिल्ला वर्षहरुमा पनि लगानीकर्ताहरुले सरकारलाई अरबौं रकम कर बुझाएका छन् ।
इन्भेष्टरहरुले आव २०७७-७८ मा १४ अर्ब १३ करोड, २०७८-७९ मा १० अर्ब ३५ करोड रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन् । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले उपलब्ध गराएको तथ्यांक अनुसार आव २०७९-८० मा लगानीकर्ताले सरकारलाई २ अर्ब ९७ करोड र २०८०-८१ मा ५ अर्ब ५० करोड रुपैयाँ पुँजीगत लाभकर बुझाएका हुन् ।
कुन वर्ष कति तिरे लगानीकर्ताले पुँजीगत लाभकर ?

यता, गत वर्षको ८ महिना लगानीकर्ताले सरकारलाई १ अर्ब भन्दा धेरै रकम पुँजीगत लाभकर तिरेको तथ्यांक छ । जसमध्ये, सबैभन्दा धेरै २०८१ को साउनमा ४ अर्ब २३ करोड, भदौमा २ अर्ब ५७ करोड, फागुनमा १ अर्ब ३३ करोड, असारमा १ अर्ब २७ करोड, वैशाखमा १ अर्ब २२ करोड, जेठमा १ अर्ब १७ करोड रुपैयाँ, माघमा १ अर्ब ५ करोड र मंसिरमा १ अर्व ४ करोड रुपैयाँ बराबरको रकम पुँजीगत लाभकर बुझाएका छन् ।

