काठमाडौं । नेपाल राष्ट्र बैंकले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एनआइसी एशिया बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले नियमविपरित सिटिजन्सले प्रमुख कार्यकारी अधिकृतको सुविधा विस्तार गरेको, कर्जा विस्तार नियमविपरित गरेको र एनआइसीले ऋणीबाट बढी ब्याज लिएको भन्दै कारबाही गरेको हो ।
सिटिजन्स बैंकबाट जारी एकीकृत निर्देशन नं. ६ को बुँदा नं. ४ (१३) मा भएको व्यवस्थाविपरीत तथा यस बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागबाट प्रेषित निर्देशनविपरीत बैंकका प्रमुख कार्यकारी अधिकृतको करार सम्झौतामा संशोधन गरी प्रमुख कार्यकारी अधिकृतको सुविधा वृद्धि गरेको, ‘सिटिजन्स फास्ट ट्रयाक लोन’ अन्तर्गत कर्जाको उपयोगको सम्बन्धमा आन्तरिक लेखापरीक्षकबाट विस्तृत अध्ययन गर्न यस बैंकबाट दिइएको निर्देशनको पालना नगरेकोले बैंकले इन्टरनेसनल लिमिटेडको सञ्चालक समितिलाई राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० (२) (क) अनुसार सचेत गराएको हो ।
त्यस्तै राष्ट्र बैंकले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ब्याजदर अन्तरको गणना गलत तरिकाबाट गरेको, नयाँ कर्जा प्रवाह गरी पुरानो कर्जा तथा ब्याज चुक्ता गरेको दावी परेका बैंक जमानतको भुक्तानी यस बैंकबाट जारी एकीकृत निर्देशन नं. २ को बुँदा नं. १९ मा तोकिएको समयवाधिभित्र नगरेको, लामो समयसम्म निरन्तर अस्थायी रूपमा म्याद बढाइएका कर्जाहरूमा ‘एजाइनिक वाइज’ कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, यस बैंकबाट जारी चालुपुँजी सम्बन्धी मार्गदर्शन, २०७९ मा भएका व्यवस्थाहरूको पूर्णरूपमा पालना नभएको, तोकिएका क्षेत्रमा प्रवाह भएका कर्जाको गलत रिपोटिङ्ग गरेकोले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(२) (क) अनुसार सचेत गराइएको बताएको छ ।
एनआइशी एसियाको हकमा भने राष्ट्र बैंकले तत्कालीन समयमा यस बैंकबाट जारी एकीकृत निर्देशन २०७४ (इ.प्रा. निर्देशन नं. १५-०७४, बुँदा नं २, ५ (ङ)) मा उल्लेख भएको व्यवस्था विपरीत ऋणीबाट बढी ब्याज असुल गरेको पाइएको, ऋणीसँग कर्जा सम्झौता गर्दा सम्झौतापत्रमा कर्जाको प्रकार, लागू हुने व्याजदर (स्थिर ÷-परिवर्तनीय), किस्ता सम्बन्धी व्यवस्था लगायतका इ. प्रा. निर्देशन नं. २० -०८१ को बुँदा नं. १ मा उल्लेख भएको व्यवस्था बमोजिम सरल एवं स्पष्ट भाषामा उल्लेख गरेको नपाईएको तथा ब्याजदर परिवर्तन गरेको जानकारी ऋणीलाई दिएको नदेखिएकाले एनआईसी एशियालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ (क) बमोजिम सचेत गराइएको जनाएको छ ।

