नेप्से सूचक सामान्य अंकले बढ्यो, साढे १८ अर्ब बराबरको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात, बिहीबाट नेप्से सूचक ३.७६ अंकले बढेर २९८२.६४ विन्दुमा पुगेको छ । आज १८ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । पछिल्ला दिनहरुमा सेयर बजार आक्रामक ढंगले बढेको देखिन्छ । सोसँगै बजारबाट नाफा बुक गर्ने पनि बढेका छन् ।

यद्दपि, मार्केट अझै पनि बुलिस रहेको सेयर बजारका विश्लेषणकहरुको भनाई छ । मार्केट बढ्दा बेलाबेला सामान्य करेक्सन पनि आवश्यक पर्छ । यसले बजारलाई थप मजबुत बनाउँछ ।

यता, सूचीकृत कम्पनीहरुले गत वर्षको चौथो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गर्न सुरु गरिसकेका छन् । रिपोर्ट सार्वजनिक गर्ने कम्पनीहरुको वित्तीय अवस्था निकै सुधार भएको देखिन्छ । अरु कम्पनीहरुको पनि उक्त रिपोर्ट राम्रो आउने अनुमान लगानीकर्ताहरुको छ । त्यसैले पनि बजारमा राम्रो वृद्धि देखिएको विज्ञहरु बताउँछन् ।

त्यसैगरी, अबको केही महिना पछि लाभांशको सिजन पनि सुरु हुनेछ । अहिले लाभांश वितरण क्षमता भएका कम्पनीको सेयर खरिद गरेर केही महिना होल्ड गर्ने लगानीकर्ताले लाभांश हात पार्न सक्नेछन् ।

राष्ट्र बैंकले पनि बजार मैत्री नीति लिएको छ । मौद्रिक नीतिमार्फत सेयरधितो कर्जामा लगाइएको क्याप खुकुलो पारिएको छ । लघुवित्त संस्थाहरुको लाभांश वितरणमा लगाइएको १५ प्रतिशतको व्यवस्था परिमार्जन गरिने कुरा पनि उक्त नीतिमा छ । यता, मुद्दतिको ब्याजदर निकै न्यून विन्दुमा झरिसकेको छ । त्यसैले पनि अब सेयर बजारमा लगानी भित्रिने सम्भावना धेरै रहेको बजारका अनुभवि लगानीकर्ताहरुको भनाई छ ।

बैंक तथा वित्तीय संस्थाहरु स्वयं पनि अहिले सेयर बजारमा सक्रिय छन् । यसरी संस्थागत लगानीकर्ता सक्रिय हुँदा खुद्रा लगानीकर्ताहरु पनि बढी भरोसा लिएर बजारमा प्रवेश गरिरहेका छन् ।

साथै, सेयर बजारमा चक्र अनुसार उतारचढाव आउँछ । विगतमा बजार लामो समयसम्म घटेपछि अहिले पुन: तीव्र वृद्धिको चरणमा छ । नेपालको सेयर बजार बढ्नुमा विभिन्न नीतिगत सुधार, आर्थिक परिसूचकहरुमा सकारात्मक संकेत, र लगानीकर्ताको बदलिँदो व्यवहारको परिणाम हो ।

बिहीबार कारोबार भएको ३२८ स्टक्रिप्ट मध्ये १२३ वटाको भाउ बढेको छ भने १२७ को भाउ घटेको छ । विकास बैंक, होटल्स तथा पर्यटन, हाइड्रोपावर, लगानी र म्युचुअल फन्ड समूह बाहेक अरु सबै उपसमूह घटेका छन् । ४ वटा कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार