काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको सम्पत्ति बिहीबार १७ अर्ब अमेरिकी डलरले घटेको छ । टेस्ला सेयर भाउमा आएको गिरावटका कारण उनको नेटवर्थ घटेको हो । टेस्लाको सेयर बिहीबार ८.२० प्रतिशत घटेर प्रतिकित्ता ३०५ डलरमा झरेको छ ।
दोस्रो त्रैमासिक आय विवरण सार्वजनिक भएपछि कम्पनीको सेयरमा अचानक गिरावट आएको हो । टेस्लाले एक दशकयताकै सबैभन्दा ठूलो आम्दानी गिरावट व्यहोरेको छ भने कर छुटबाट मात्रै कम्पनीले ६० करोड डलर गुमाएको छ । टेस्लामा मस्कको १२ प्रतिशत स्वामित्व रहेको फोर्ब्सले जनाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इलेक्ट्रिक सवारी किन्नेलाई दिइने कर छुट हटाउने नीति ल्याएपछि मस्कले “टेस्लाको लागि केही कठिन त्रैमासिक आउन सक्ने” चेतावनी दिएका थिए । उनले भने, “अर्को वर्षको अन्त्यसम्म टेस्लाको आर्थिक अवस्था फेरि मजबुत हुने अपेक्षा गरिएको छ।” हाल मस्कको नेटवर्थ ३९७ अर्ब डलरमा झरेको छ ।

