कम्बोडियासँग युद्ध हुनसक्ने थाइल्यान्डको चेतावनी

काठमाडौं ।  थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचाचाइले शुक्रबार कम्बोडियासँगको सीमापार झडपले एक लाख ३० हजारभन्दा बढी मानिसलाई विस्थापित गरेको भन्दै यो झडप ‘युद्धमा परिणत’ हुनसक्ने चेतावनी दिएका छन् ।

लामो समयदेखि चलिरहेको सीमा विवाद बिहीबार जेट, तोपखाना, ट्याङ्क र स्थल सैनिकहरुसहित तीव्र लडाइँमा परिणत भएको छ र संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले शुक्रबार पछि यस सङ्कटमा आपत्कालीन बैठक गर्ने तयारी गरेको छ ।

थाइल्यान्डको सीमावर्ती क्षेत्रहरुबाट एक लाख ३८ हजारभन्दा बढी मानिसलाई बाहिर निकालिएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले १४ नागरिक र एक सैनिकसहित १५ जनाको मृत्यु भएको र १५ सैनिकसहित ४६ जना घाइते भएको बताएको छ । “हामीले छिमेकी भएकाले सम्झौता गर्ने प्रयास गरेका छौँ, तर अब हामीले थाई सेनालाई जरुरी अवस्थामा तुरुन्तै कार्य गर्न निर्देशन दिएका छौँ”, वेचाचाइले बैङ्ककमा पत्रकारहरुलाई भने, “यदि स्थिति बढ्यो भने यो युद्धमा परिणत हुनसक्छ, यद्यपि अहिलेका लागि यो झडपमा मात्र सीमित छ ।”

सीमाबाट २० किलोमिटर (१२ माइल) टाढा रहेको कम्बोडियाको सहर सामराङमा एएफपीका पत्रकारहरुले गोली चल्दा नागरिकहरु आफ्ना छोराछोरी र सामानहरु लिएर गाडीमा द्रुत गतिमा भागेको देखेका छन् ।

एएफपीका पत्रकारहरुले पनि सैनिकहरु रकेट लन्चरहरु चलाउन र सीमातिर द्रुत गतिमा दौडिरहेको देखे । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले आफूले बिहीबार दुवै देशका नेताहरुसँग वार्ता गरेको र युद्धविराम र संवादको आह्वान गरेको बताए ।

मलेसियाले हाल क्षेत्रीय समूह आसियानको अध्यक्षता गरिरहेको छ । “म बैङ्कक र नोम पेन्ह दुवैले यो अगाडिको बाटो विचार गर्न देखाएको सकारात्मक सङ्केत र इच्छाशक्तिको स्वागत गर्छु”, उनले बिहीबार साँझ फेसबुक पोस्टमा भने । तर अनवरको आशावादका बावजुद थाई सेनाले शुक्रबार बिहान ४ः०० बजे (२१०० जिएमटी बिहीबार) तीन क्षेत्रमा लडाइँ पुनः सुरु भएको बताएको छ ।

कम्बोडियाली सेनाले भारी हतियार, फिल्ड आर्टिलरी र बिएम–२१ रकेट प्रणालीले बमबारी गरेको बताएको छ । थाई सेनाले ‘उचित सहायक फायर’ का साथ जवाफ दिएको बताएको छ ।

शान्तिका लागि आह्वान – यो लडाइँले छिमेकी देशहरूबीचको साझा आठ सय किलोमिटर (पाँच सय माइल) सीमालाई लिएर लामो समयदेखि चलिरहेको विवादमा नाटकीय वृद्धि भएको छ । दुवै मुलुकको साझा सीमामा लाखौँ विदेशी पर्यटकका लागि लोकप्रिय गन्तव्यहरु छन् । धेरै क्षेत्रमा दर्जनौँ किलोमिटर विवादित छ ।

सन् २००८ र सन् २०११ को बीचमा लडाइँ सुरु हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको थियो भने हजारौँ विस्थापित भएका थिए । सन् २०१३ मा संयुक्त राष्ट्रसङ्घको अदालतले एक दशकभन्दा बढी समयका लागि यो मुद्दा सुल्झाएको थियो, तर हालको सङ्कट मे महिनामा नयाँ झडपमा एक कम्बोडियाली सैनिक मारिएपछि सुरु भयो ।

रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार