CLI

बुङ्गल हाइड्रो आइपीओ : वैदेशिक रोजगारीमा रहेकालाई आज अन्तिम दिन, स्थानीयलाई म्याद थप

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले असार २९ गतेदेखि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) मा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ। यता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि भने आवेदन दिने अवधि साउन २६ गतेसम्म लम्बिएको छ।

कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये, ८ करोड ३० लाख रुपैयाँ बराबरको ८ लाख ३० हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ।

स्थानीयका लागि छुट्याइएको शेयरमध्ये ६५ प्रतिशत अति प्रभावित क्षेत्र ,सुदूरपश्चिम प्रदेश, बझाङ जिल्ला, बुङ्गल नगरपालिका वडा नं ६ र ७ र बाँकी ३५ प्रतिशत सामान्य प्रभावित क्षेत्र (बझाङ जिल्ला, बुङ्गल नगरपालिकाका अन्य वडा) का बासिन्दाहरूमा बाँडफाँट गरिनेछ।

यसका साथै, सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने २ लाख ७ हजार ५०० कित्ता साधारण शेयर नेपाल सरकारको श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्काशन गरिएको हो।

न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आइपीओमा आवेदन दिन सकिन्छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

स्थानीय बासिन्दाहरूले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (केदारस्यू–१, कृषि विकास बैंक ,बुङ्गल नगरपालिका, ग्लोबल आइएमई बैंक ,जयपृथ्वी नगरपालिका र आयोजनास्थलबाट आवेदन दिन सक्नेछन्। दरखास्त फारामबापत २ रुपैयाँ शुल्क लाग्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि आस्बा प्रणालीमार्फत, तथा मेरो शेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी सिंगल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको सङ्केत गर्दछ।

कम्पनीले सञ्चालन गरेको १०.७० मेगावाटको माथिल्लो सानिगाड जलविद्युत् आयोजनाको कुल लागत ३ अर्ब २ करोड ३६ लाख ३८ हजार ४८३ रुपैयाँ रहेको छ। यसको प्रतिमेगावाट लागत २८ करोड २५ लाख ८३ हजार ३५ रुपैयाँ छ। जलविद्युत् अनुमतिपत्रको अवधि २६ वर्ष १० महिना बाँकी छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.८५ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि २२.२९ वर्ष रहेको छ।

 

 

Leave Your Comment

Related News