नेपाल आइस र मुस्ताङ जस्ता बियर उत्पादक सीजी ब्रुअरीले ९ महिनामा गर्यो २ अर्ब २१ करोडको आम्दानी

काठमाडौं । सीजी ब्रुअरी नेपाल लिमिटेडले गत वर्षको ९ महिनामा २ अर्ब २१ करोड १० लाख रुपैयाँको आम्दानी गरेको छ । कम्पनीले अघिल्लो वर्ष अर्थात, सन् २०२४ मा २ अर्ब ६७ करोड ७० लाख, सन् २०२३ मा ३ अर्ब ५ करोड, सन् २०२२ मा ४ अर्ब ५४ करोड र सन् २०२१ मा ३ अर्ब ९१ करोड आम्दानी गरेको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ ।

पछिल्ला वर्षको तुलनामा आम्दानी घटेको छ । सीजीले १ अर्ब ६० करोड कर्जाका लागि इक्राएनपी ए ४ प्लस रेटिङ पुनः पुष्टि गराएको हो । रेटिङ पुनःपुष्टिको पछाडि कम्पनीको २ दशकभन्दा लामो समयदेखि अल्कोहलिक पेय पदार्थ उत्पादनको अनुभव, स्थिर प्रवर्द्धक (चौधरी ग्रुप), लोकप्रिय उत्पादनहरु (नेपाल आइस बियर, मुस्टाङ प्रिमियम स्ट्रङ बियर) को उच्च ब्राण्ड मान्यता, र सुदृढ वितरण सञ्जाल रहेका छन् ।

हाल कम्पनीको ऋण-इक्विटी अनुपात करिब १.२ गुणा रहेको छ, जसले मुनाफा घटे पनि ऋण भुक्तानीमा ठूलो समस्या हुन दिएको छैन ।
यद्दपि, सन् २०२४ मा करिब १३% बिक्री घटेको, मुनाफा कमजोर भएको, सञ्चालन घाटा आएको, कार्यशील पुँजीको चक्र थप लामो भएको र खर्च बढेकोले कम्पनीको वित्तीय अवस्था कमजोर रहेको पाइएको छ ।

कम्पनीको झण्डै ७४% राजस्व केवल २ उत्पादन नेपाल आइस र मुस्टाङ प्रिमियम स्ट्रङबाट आउँछ । उत्पादन विविधिकरणको अभावले बजारमा प्रतिस्पर्धा तीव्र भएको अवस्थामा समग्र राजस्वमा जोखिम बढाएको छ । बियरमा लाग्ने उच्च अन्तःशुल्क र करहरुले घरेलु उद्योगलाई संरक्षण गरे तापनि, नीति परिवर्तनले कम्पनीको नाफामा प्रतिकूल असर पार्न सक्छ।

अल्कोहल पेयपदार्थमा उच्च करको साथसाथै स्वास्थ्य र सामाजिक नियन्त्रणका नीतिहरुले पनि दीर्घकालीन रुपमा सिजी ब्रुअरीजस्ता कम्पनीको व्यापारमा असर पार्न सक्ने बताइएको छ। सीजी ब्रुअरी नेपाल लिमिटेडको स्थापना सन् १९९३ मा चौधरी ग्रुपको बियर उत्पादन इकाईका रुपमा भएको हो । कम्पनीको वार्षिक उत्पादन क्षमता ५.८५ लाख हेक्टोलिटर रहेको छ।

कम्पनीले नेपाल आइस, मुस्टाङ र रियल गोल्ड जस्ता ब्राण्डहरु हङकङ, जापान, बेलायत, अमेरिका र अष्ट्रेलिया लगायतका मुलुकहरुमा पनि निर्यात गर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार