CLI

अख्तियार प्रमुख प्रेम राई विरुद्ध अख्तियारमै उजुरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी परेको छ । युवराज पौडेल (सफल) ले आइतबार उनीविरुद्ध उजुरी दर्ता गरेका हुन् ।

अख्तियार प्रमुख राई वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतमा मुछिएको भन्दै आवश्यक छानबिन गरी कारबाही गर्न उजुरीमा आग्रह गरिएको छ ।

उजुरीमा अख्तियार प्रमुख राईलाई वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भुटानी शरणार्थी प्रकरणलगायतका विभिन्न भ्रष्टाचार प्रकरणमा मुछिएको आरोप लगाइएको छ । उजुरीकर्ताले यी विषयमा आवश्यक छानबिन गरी कारबाहीको माग गरेका छन् ।

त्यस्तै वर्तमान अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको र निजले ३ करोड रुपैयाँ सो वापत लिएको कुरा समेत पहिला नै सार्वजनिक भइ सकेको हो। तर पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा निज प्रेम कुमार राईमाथि कुनै मुद्धा दर्ता भई अनुसन्धान समेत भएको छैन , उजुरीमा भनिएको छ ।

अत वाइडबडी जहाज खरिद घोटाला आयल निगमको जग्गा खरिद प्रकरण नक्कली भुटानी शरणार्थी प्रकरण जस्ता भ्रष्टाचारमा मुछिएका प्रेम कुमार राईमाथि मुद्धा दायर गरी हदैसम्मको कारवाही गर्न माग गर्दै प्रस्तुत उजुरी पेश गरेको छु । साथै भ्रष्टाचारमा मुछिएका अदालतले समेत मुद्धा चल्न पर्ने भनी घुमाउरो हिसाबमा दोषी देखेको व्यक्ति प्रेम कुमार राई नैतिक रुपमा १ सेकेण्ड पनि प्रमुख आयुक्तको कुर्सीमा बस्न नमिल्ने हुँदा तत्काल अख्तियार प्रमुख आयुक्तबाट राजिनामा दिएर अनुसन्धानमा सहयोग गर्न माग गर्दछ, यदि अटेर गरेको खण्डमा आवश्यक कानुनी प्रक्रियामा गएर पदमुक्त गराउने र भ्रष्टाचारको अभियोग लागेका मुद्धाहरु उपर अनुसन्धान गरी कारवाही समेत गराउने पनि यसै उजुरी मार्फत ध्यानाकर्षण गराउन चाहन्छु । यदि अख्तियारले सो गर्दैन भने अख्तियारलाई समेत विपक्षी बनाई कानुनी उपचार खोज्न बाध्य हुने पनि यसै उजुरी मार्फत प्रष्ट पार्न चाहन्छु, उजुरीमा उजुरीकर्ता पौडेलले उल्लेख गरेका छन् ।

उजुरीमा मिति २०८१ मंसिर २० गतेको विशेष अदालतको एक पूर्णपाठलाई समेत उद्धृत गरिएको छ। सो पूर्णपाठमा ‘मुद्दा नं. ०८० सीआर ०१४५ माथि अन्तिम सुनुवाइ सम्पन्न गरी सार्वजनिक भएको पूर्णपाठमा समेत आरोपित प्रेम कुमार राईमाथि मुद्दा नचलाएकोमा विशेष अदालतले आपत्ति प्रकट गरेको छ’ भनी उल्लेख छ ।

विशेष अदालतको फैसलामा थप भनिएको छ, ‘यसरी एउटै कार्यमा संलग्न कसैलाई अभियोजन नै नगर्ने र कसैलाई अभियोजन गर्ने जस्तो चयनमुखी अभियोजन गर्नु समान न्यायको सिद्धान्तविरुद्ध हुन्छ । यस्तो कार्यले कानुन सबैका लागि बराबर हो भन्ने भावनामा आघात पुर्‍याउँछ र न्यायप्रतिको विश्वास कमजोर बनाउँछ ।’ उजुरीकर्ताले यहीँ बुँदालाई आधार बनाएर राईमाथि छानबिन र कारबाहीको माग गरेका हुन् ।

Leave Your Comment

Related News