काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको पुँजीको कोषको आकार ६ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्ष २०८१ /८२ को जेठसम्म बैंक तथा वित्तीय संस्थाहरुको पुँजी कोषका आकार ७ खर्ब ६५ अर्ब १७ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । जुन अघिल्लो आव २०८०/८१ सोही अवधिको तुलनामा ५.६५ प्रतिशत अर्थात् ४० अर्ब ९९ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको पुँजी कोषको आकार ७ खर्ब २५ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको पूँजी कोषमा सुधार आएको कारण यसको आकार समेत वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरुमा पूँजीकोषको दबाब रहेको थियो । सो समयमा जोखिम सम्पत्तिको तुलनामा प्राथमिक पूँजी अनुपात कुमारी बैंकको ८.५६ प्रतिशत र एनआइसी एशिया बैंकको ८.४४ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक र विकास बैंकको पूँजी कोषमा सुधार गर्दा समग्रमा बैंकिङ संस्थाहरुको पूँजी कोषको आकार बढेको हो । समीक्षा अवधिमा वित्त कम्पनीहरुको पूँजी कोषको आकार भने घट्दो क्रममा रहेको छ । राष्ट्र बैंकका अनुसार गत आवको जेठसम्म वाणिज्य बैंकको पूँजी कोषको आकार ६ खर्ब ८७ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३७ अर्ब ८८ करोड रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा वािणज्य बैंकको पूँजी कोषको आकार ६ खर्ब ४९ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको जेठसम्म विकास बैंकको पूँजी कोषको आकार ६० अर्ब ८२ करोड ७० लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ अर्ब ७१ करोड ५० लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विकास बैंकको पूँजी कोषको आकार ५७ अर्ब ११ करोड २० लाख रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको जेठसम्म वित्त कम्पनीहरुको पूँजी कोषको आकार १७ अर्ब ५२ करोड ८० लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६० करोड ४० लाख रुपैयाँले कम हो । अघिललो आर्थिक वर्षको सोही अवधिमा वित्त कम्पनीहरुको पूँजी कोषको आकार १८ अर्ब १३ करोड २० लाख रुपैयाँ रहेको थियो । बैंक तथा वित्तीय संस्थको पुँजी कोष दबाबमा देखिदाँ कर्जा लगानी विस्तार गर्न सक्दैनन् ।
पुँजीकोषको दबाबमा रहेका बैंकहरुले अविमोच्य असञ्चित अग्राधिकार शेयर जारीमार्फत् समस्या समाधान गर्ने गर्छन् । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन, कर्जा लगानी र कायम गर्नुपर्ने न्यूनतम पूँजीकोषबीचको अन्तरसम्बन्धले व्यावसायिक विस्तारलाई निर्धारण गर्दछ । विद्यमान व्यवस्था अनुसार वाणिज्य बैंकहरुले जोखिम भारित सम्पत्तिको न्यूनतम १० प्रतिशत पूँजीकोष कायम गर्नुपर्ने र त्यसमध्ये ६ प्रतिशत प्राथमिक पुँजी अनुपात हुनुपर्ने व्यवस्था छ ।

