काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हायात रिजेन्सी) ले विगतका आर्थिक वर्षहरूमा वितरण गरेको नगद लाभांश तथा बोनस शेयर अझै संकलन नगरेका शेयरधनीहरूलाई उक्त लाभांश र बोनस शेयर लैजान सूचना जारी गरेको छ ।
धेरै शेयरधनीहरूले आफ्नो लाभांश रकम संकलन नगरेको पाइएकाले कम्पनीले सबै सम्बन्धित शेयरधनीहरूलाई सोही विवरणको आधारमा आवश्यक प्रक्रिया पुरा गरी लाभांश रकम यथाशीघ्र लिन अनुरोध गरेको छ।
साथै, भौतिक शेयर प्रमाणपत्र भएका शेयरधनीहरूलाई शेयर अभौतिकीकरण प्रक्रिया छिटो पूरा गर्न पनि आग्रह गरिएको छ। अभौतिकीकरण नगरेसम्म नगद लाभांश शेयरधनीको हितग्राही खातामा पठाउन सकिँदैन।
शेयरधनीहरूले आफ्नो डिम्याट खाता रहेको निक्षेप सदस्यसँग सम्पर्क गरी शेयर प्रमाणपत्र डिम्याटमा परिणत गरी नेपाल क्लियरिङ्ग हाउस अन्तर्गत आईपीएस सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थामा रहेको खातासहितको विवरण अद्यावधिक गराउनु पर्ने हुन्छ।
त्यसैगरी, हितग्राही खातामा बैंक खाता नअद्यावधिक गरिएका, वा मर्जरका कारण बैंक परिवर्तन भएका शेयरधनीहरूले पनि तुरुन्तै आफ्नो निक्षेप सदस्यमा सम्पर्क राखी विवरण अद्यावधिक गर्नुपर्ने कम्पनीले जनाएको छ।

