काठमाडौं । पछिल्लो समय सेयर बजारको प्राविधिक विश्लेषणमा कृत्रिम बौद्धिकता (एआइ)को प्रयोग बढ्न थालेको छ । विभिन्न सेयर स्क्रिनिङ सफ्टवेयरहरुले एआइको मद्दतबाट विश्लेषण गर्न मिल्ने प्रविधिको विकास गरेका छन् । नेप्से इन्डेक्सदेखि कुनै सीमित स्टकको पनि एआइ प्रयोगबाट प्राविधिक विश्लेषण गरिन्छ । यसबाट सेयर बजारको आगामी चाल अनुमान गर्छ सकिन्छ । तर, यसरी गरिएको विश्लेषण खासै मिलेको भने देखिएको छैन ।
एआइको प्रयोगबाट गरिएको विश्लेषणले खासै राम्रो गरी काम नगरेको लगानीकर्ताहरुको गुनासो छ । उदाहरणका लागि स्क्रिप्ट वा इन्डेक्सले सपोर्ट ब्रेक गर्दा बिक्रीचाप बढ्ने र रेजिस्टेन्स ब्रेक गर्दा खरिद चाप बढ्ने विभिन्न प्राविधिक विश्लेषण सम्बन्धी किताबमा लेखिएको हुन्छ । यस्तै केही आधारलाई लिएर एआइमा पनि अल्गोरिदम सेट गरिएको हुन्छ ।
यसले म्यानुपुलेट गरेर बढाइएका स्टकमा पनि यस्तै साइन दिने गर्छ । जसले लगानीकर्ता फस्न सक्ने सम्भावना पनि हुन्छ । कुनै समूह वा व्यक्तिले बढाएको वा घटाएको स्टकमा प्राविधिक विश्लेषणले काम गर्दैन । तर, यस्तो बेला पनि एआइले मज्जाले बाई सिग्नल दिएको पाइन्छ ।
त्यस्ता सेयर कति माथिसम्म बढ्ने हो भनेर प्राविधिक रुपमा अनुमान लगाउन सकिंदैन । न त कुनै सपोर्टले काम गर्छ न त कुनै रेजिस्टेन्सले काम गर्छ । त्यसैले म्यानुपुलेट गरिएका स्टकमा लगानीकर्ताले एआइको प्रयोग नगरेको नै ठीक हुने जानकारहरुको भनाई छ ।
सेयर बजारका जानकार तथा विश्लेषणक देव गुरागाँई एआइको प्रयोग गर्दा डाटा म्यानेजमेन्ट कस्तो छ भनेर हेर्नु पर्ने बताउँछन् । उनले एआइमा प्रयोग गरिएको डाटा आधिकारिक सोर्सबाट आएको छ कि छैन र कति वर्ष अघिदेखिको डाटा प्रयोग गरिएको छ भनेर हेर्नु पर्ने बताए ।
‘नेप्सेको साइटमा धेरै वर्ष पहिलेदेखिको डाटा उपलब्ध छैन । पुराना डाटा प्रयोग भएको छ भने विश्लेषण अझै सटिक हुनेथियो’, उनले भने, ‘नेपालको सेयर बजारको टेक्निक एनालाइसिस त्यति धेरै मेल खाएको देखिंदैन । किनभने, नीतिगत कुराहरु यथावत् रहेमा टेक्निक एनालाइसिसले काम गर्ने हो । यहाँ नीतिगतलगायतका कुराहरु यथावत् छैनन् ।’
तर, एआइको प्रयोग गरेर गरिएको विश्लेषणलाई गलत हो भन्न पनि नमिल्ने उनको भनाई छ । ‘अहिले विभिन्न कम्पनीहरुले प्रयोग गरेको प्रविधिमा पुराना डाटा उपलब्ध छ जस्तो लाग्दैन । त्यसैले एआइको अनुमान धेरै रिलायबल हुँदैन । आवश्यकता अनुसारको डाटा उपलब्ध हुने थियो भयो एआइको प्रयोगबाट गरिएको विश्लेषणलाई चाँहि सटिक मान्न सकिने थियो, उनले भने ।
हुन त, नेपाल अहिले प्रविधिको क्षेत्रमा पछाडि नै छ । सेयर बजार विकास भएको देशमा एआइले केही हदसम्म सटिक विश्लेषण गर्ला । तर, नेपालमा भने यसले काम गरेको देखिंदैन । किनकि, हामीसँग प्रर्याप्त डाटा छैन । र, प्राविधिक विश्लेषण गर्न प्रयोग गरिने टुलहरु पनि धेरै छैनन् । त्यसैले पनि तुलनात्मक रुपमा सेयर बजारमा प्रयोग गरिएको एआइले काम नगरेको हुनसक्ने पुराना लगानीकर्ताहरु पनि बताउँछन् ।
यता, गुरागाँईका अनुसार कुनै स्टकहरु म्यानुपुलेट गरेर बढाइएका हुन्छन् । यस्तो बेला एआइ फेल खान्छ । ‘पुराना डाटाहरुलाई अल्गोरिदममा सेट गरिन्छ । स्क्रिप्टलाई पम्प गरिएको छ भने सिस्टमले भाउ बढ्ने देखाउँछ । यस्तो बेला एआइ फेल खान्छ, उनले भने ।
त्यसो त, एआइले भावनात्मक, आकस्मिक राजनीतिक परिवर्तन, बजार हल्ला वा अनपेक्षित समाचारहरुको प्रभाव पहिल्यै देखाउन सक्दैन । यस्तो अवस्थामा लगानीकर्ताहरु झुक्किन सक्ने खतरा रहन्छ । एआइ चार्टको निर्भरता खासगरी ऐतिहासिक मूल्य, ट्रेन्ड र भोल्युममा केन्द्रित हुन्छ । तर बजारमा ठूला लगानीकर्ताले चलखेल, अफवाह वा सरकारको नीति परिवर्तनको हल्लाले पनि मूल्यमा ठूलो उतारचढाव ल्याउँछन् ।
त्यसैले एआइ चार्टलाई सहयोगी उपकरणको रुपमा मात्र प्रयोग गर्नुपर्छ, निर्णय लिनुअघि कम्पनीको मौलिक अवस्था, ताजा समाचार र बजार भावना समेत हेर्न जरुरी हुन्छ । विशेषज्ञहरु एआइको सहायताले बजार बुझ्न सजिलो हुने भएपनि यसैले दिएको निर्देशन अनुसार अन्धविश्वासले लगानी गर्दा घाटा निम्त्याउन सक्ने उनीहरुको चेतावनी छ ।

