काठमाडौं । मंगलबार देशभरका विभिन्न क्षेत्रका आठ वटा राजमार्ग पूर्ण अवरोध हुँदा छ वटा राजमार्ग एकतर्फी सञ्चालनमा रहेका छन् । गृह मन्त्रालयका अनुसार वर्षासँगै आएको पहिरोका कारण विभिन्न राजमार्ग पूर्णरुपमा बन्द र एकतर्फी सञ्चालन गरिएको हो ।
मन्त्रालयका अनुसार संखुवासभा, . पाँचथर, रसुवा र रुकुम पश्चिमस्थित रहेका राजमार्गहरु पूर्ण रुपमा अवरुद्ध भएका हुन् । संखुवासभा भोटखोला गाँउपालिका ४ बरुणखोला स्थित कोशी राजमार्ग , रसुवा गोसाईकुण्ड गाँउपालिका वडा नम्बर २ नेपाल र चीन नाका जोड्ने पुल, सिन्धुपाल्चोक भोटेकोशी गाँउपालिका २ कोदारी, अरनिको राजमार्ग र लमजुङको मस्र्याङदी गाँउपालिका वडा नम्बर ४ हावाडाँडास्थित बेसिशहर–मनाङ सडक पूर्ण रुपमा अवरोध रहेको छ ।
त्यस्तै गुल्मी सत्यवती गाँउपालिका वडा नम्बर ६ रुद्रवेणी वामीस्थित सडक खण्ड, गुल्मी चन्द्राकोट गाँउपालिका वडा नम्बर ८ रिजिगार स्थित जारजरकोट डोल्पा भेरी करिडोर सडक र बैतडी पाटन नगरपालिका ४ जेउडेस्थित दशरथ चन्द्र राजमार्ग पूर्णरुपमा अवरोध रहेको छ ।
काठमाडौं टोखा नगरपालिका वडा नम्बर २ स्थित काठमाडौं नुवाकोट राजमार्ग, बाग्लुङ नगरपालिका वडा नम्बर १० स्थित दब्लयाङ स्थित कालिगण्डकी करीडोर, मुस्ताङ थासाङ गाउँपालिका ४ घोप्टेभिरस्थित बेनी जोमसोम सडक, तनहुँ बन्दिपुर गाँउपालिका वडा नम्बर ४ चुनपहरास्थित पृथ्वीराजमार्ग र रोल्पा परिवर्तन गाँउपालिका वडा नम्बर ५ ग्रामजिम र धामाचौरस्थित सहिद राजमार्ग एकतर्फी सञ्चालनमा रहेका छन् ।


