काठमाडौं । भूगर्भ सिमेन्ट लिमिटेडले गत वर्षको ९ महिनामा १ अर्ब १३ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले अघिल्लो वर्ष अर्थात, सन् २०२४ मा १ अर्ब ३९ करोड र सन् २०२३ मा १ अर्ब २६ करोड रुपैयाँ आम्दानी गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले जनाएको छ ।
सिमेन्ट उद्योगमा क्रियाशील भूगर्भ सिमेन्टले पछिल्लो समय आफ्नो वित्तीय प्रदर्शनमा केही सुधार गरे पनि कम्पनी अझै उच्च जोखिमयुक्त अवस्थामा रहेको रेटिङ एजेन्सीले जनाएको छ । यसले २ अर्ब २५ करोड बैंक कर्जाका लागि रेटिङ गराएको हो । एजेन्सीले यसलाई ‘केयर इनपी बी प्लस’ रेटिङ दिएको छ । यसले कम्पनीको अवस्था केही सुधार भए पनि अझै समयमै वित्तीय दायित्व पूरा गर्न जोखिम उच्च रहेको संकेत गर्दछ ।
सिमेन्ट उद्योगको प्रकृति प्रतिस्पर्धी रहेकोले पनि कम्पनीको लाभमा सीधा असर पर्ने जोखिम रहन्छ । कच्चा पदार्थ जस्तै क्लिङ्कर, जिप्सम र फ्लाइएशको मूल्यमा हुने उतारचढावले उत्पादन लागतमा असर पार्ने गर्छ ।
यद्दपि, यो कम्पनीसँग केही सकारात्मक पक्षहरु पनि छन् । कम्पनीसँग आफ्नो चूनढुंगा खानी छ, जसको उत्पादन क्षमता ३२०० मेड्रिक टन प्रति दिन छ । यस्ता आन्तरिक स्रोतहरुले कम्पनीलाई अन्य ग्राइन्डिङ युनिटहरुभन्दा प्रतिस्पर्धात्मक लाभ दिलाएको छ ।
नेपाल सरकारको आगामी वर्षको बजेटमा पूर्वाधार विकासमा जोड दिइएको छ, जसले दीर्घकालमा सिमेन्टको माग बढ्ने आशा गर्न सकिन्छ । सरकारको करिब १९ खर्ब रुपैयाँको बजेटले सडक, जलविद्युत्, विमानस्थल जस्ता परियोजनाहरूमा खर्च बढाउने योजना रहेकोले यस्तो पूर्वाधार निर्माणले सिमेन्ट कम्पनीलाई अवसर प्रदान गर्नेछ ।
भूगर्भ सिमेन्ट लिमिटेडले वित्तीय रूपमा सुधार गरिरहेको छ, तर पुँजी संरचनामा अझै उच्च ऋणको बोझ, कार्यशील पुँजी चक्रको दबाव, र कच्चा पदार्थ लागतको अस्थिरताले कम्पनीलाई अझै जोखिमयुक्त बनाइरहेको छ ।
यदि कम्पनीले आफ्नो सञ्चालन सुधार गर्दै कार्यशील पुँजी व्यवस्थापनलाई प्रभावकारी बनाउन सक्यो भने आगामी वर्षहरूमा यसको रेटिङ अझ सुधार हुन सक्ने सम्भावना रहन्छ । यस कम्पनीले १०० रुपैयाँ अंकति दरमा १२ लाख ६२ हजार ५०० कित्ता सेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति मागेका छन् ।

