काठमाडौं । अबदेखि वाईफाई हटस्पट सेवा मोबाइल अपरेटरले मात्र दिन पाउने भएका छन्। सर्वाजनिक स्थानमा वाईफाई हटस्पट प्रदान गर्दै आइरहेका इन्टरनेट सेवा प्रदायकलाई यस्तो सेवा बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको हो । वाईफाई हटस्पट सेवा प्रदान गर्ने लाइसेन्स मोबाइल अपरेटरसँग मात्र भएकाले अन्य सेवा प्रदायकले त्यस्तो सेवा दिएको पाइएमा कारबाही गरिने प्राधिकरणले आइतबार सूचना जारी गर्दै चेतावनी दिएको हो।
वर्ल्डलिंकले ‘माइ वर्ल्डलिंक’ सेवा मार्फत वाईफाई हटस्पट सेवा प्रदान गर्दै आइरहेको थियो । माइ वर्ल्डलिंकमा लगइन गरेपछि नेटवर्क भएको स्थानमा सेवाग्राहीले निर्वाध रुपमा इन्टरनेट सेवा उपयोग गर्दै आइरहेका थिए । प्राधिकरणले वाईफाई हटस्पट सेवामा प्रतिबन्ध लगाएसँगै माइ वर्ल्डलिंकको सेवा बन्द हुनेछ ।
प्राधिकरणका अनुसार आधारभूत दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा र आधारभूत टेलिफोन सेवा गरी तीन प्रकारका सेवा लिएका कम्पनीले मात्र वाइफाइ हटस्पट सेवा सञ्चालनको अनुमति प्राप्त गरेका छन् ।
जसमा आधारभूत दूरसञ्चार सेवाको अनुमति नेपाल टेलिकमसँग मात्र छ भने मोबाइल टेलिफोन सेवाको अनुमति नेपाल टेलिकम र एनसेलसँग रहेको छ । यस्तै, आधारभूत टेलिफोन सेवाको अनुमति भने युनाइटेड टेलिकम (यूटीएल)ले मात्र प्राप्त गरेको छ ।
यसबाहेक हाल वाइफाइ हटस्पट सेवा प्रदान गरिरहेको वल्र्डलिंकसँग भने उल्लेखित तीनवटै अनुमति नभएका कारण उसले हाल प्रदान गरिरहेको सेवा रोकिने भएको हो । हाल यस कम्पनीसँग इन्टरनेट र नेटवर्क सेवा प्रदायकको अनुमति मात्र रहेको छ ।
प्राधिकरणको विनियमावली अनुसार तीन प्रकारका अनुमति लिएका कम्पनीले मात्र निश्चित क्षेत्र वा परिधि भित्र वाईफाई हटस्पट सञ्चालन गर्न सक्ने व्यवस्था छ । एक पटकको लगइनबाट निश्चित समयावधि वा मात्राको लागि वाईफाई हटस्पट सेवा प्रयोग गर्न सकिनेछ ।
यस्तै, वाईफाई हटस्पट सेवा सञ्चालन गर्दा रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले तोकिदिएको दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्य सम्बन्धी) नीति लगायतको पालना अनिवार्य रुपमा गर्नुपर्ने जनाइएको छ ।
जसमा पावर लिमिट, ब्याकबोन, रेष्ट्रिक्सन लगायतका शर्तहरु अनिवार्य रुपमा पालना गरी प्राधिकरणबाट टाइप अप्रुभल भएको रेडियो उपकरणहरु मात्र प्रयोग गर्न गराउन सकिने उल्लेख छ ।
अनुमति बेगर वाईफाई हटस्पट सेवा सञ्चालन गरिरहे प्रचलित कानून बमोजिम कारवाही गरिने प्राधिकरणले चेतावनी दिएको छ ।

