काठमाडौं । पत्रकारहरूको स्वास्थ्य सुरक्षालाई प्रभावकारी बनाउन नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका कोषाध्यक्ष तथा स्वास्थ्य हित प्रवर्द्धन समितिका संयोजक संजीप घिमिरे शुभचिन्तकले बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगर र सचिव डा। सुमित्रा गौतमलाई ध्यानाकर्षण गराउनुभएको छ ।
भक्तपुरमा भएको भेटमा घिमिरेले बागमती प्रदेश सरकारले पत्रकारहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी अघि सारेको बीमा कार्यक्रमप्रति सन्तोष व्यक्त गर्नुभयो ।
पत्रकारहरू जोखिमपूर्ण अवस्थामा काम गर्ने भएकाले बीमा कार्यक्रमले उनीहरूलाई आत्मविश्वासका साथ कार्य गर्न मद्दत गर्ने उहाँले बताउनुभयो।
उहाँले प्रदेश सरकारले पत्रकारको वार्षिक एक लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार खर्च बेहोर्ने गरी ल्याइएको बीमा योजनाले पत्रकारको स्वास्थ्य हित प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो।
काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा करिब १६ सय पत्रकार रहेका जानकारी गराउँदै उहाँले सबै पत्रकारलाई बीमाको पहुँचमा ल्याउनपर्नेमा जोड दिनुभयो । साथै, उहाँले स्वास्थ्य हित कोषमा पनि योगदान गर्न र स्वास्थ्य बीटका पत्रकारलाई लेखनवृत्तिको ब्यवस्था गर्न आग्रह गर्नुभयो ।
सो अवसरमा स्वास्थ्य सचिव डा। सुमित्रा गौतमले पाँचजना पत्रकारलाई एउटै परिवार मानी स्वास्थ्य बीमामा सहभागी गराउने मोडालिटी प्रस्तुत गर्नुभयो।
उहाँले जिल्ला स्वास्थ्य कार्यालयमार्फत सहज रूपमा बीमामा आवद्ध भई तोकिएका अस्पतालबाट सेवा लिन सकिने व्यवस्था गरिने बताउनुभयो।
सचिव डा। गौतमले बीमाको प्राविधिक पक्षलाई सरल, पारदर्शी र डिजिटलमैत्री बनाइने प्रतिवद्धता प्रकट गर्नुभयो ।
बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापामगरले पत्रकार महासंघको साथ र सहकार्यमा पत्रकार स्वास्थ्य बीमा कार्यक्रम सफल रूपमा कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँले स्वास्थ्य क्षेत्र सुधार गर्ने योजनाका रूपमा ुमेरो स्वास्थ्य, मेरो जिम्मेवारी – एक घण्टा मेरो लागिु अभियान, ुएक जिल्ला, एक स्वस्थ सहरु र ुएक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्थाु कार्यक्रम यो वर्ष सञ्चालन गरिने जानकारी दिनुभयो।
मन्त्री थापामगरले स्वास्थ्य क्षेत्रमा प्रादेशिक संरचनापछि देखिएको परिवर्तनलाई जनताले गर्व गर्नसक्ने बनाउने गरी अघि बढिरहेको बताउनुभयो।
सरकारले बीमा कार्यक्रमको प्रिमियम बेहोर्ने, पत्रकारहरूलाई समूहमा आबद्ध गराउने, र बीमाको पहुँच सजिलो बनाउने तयारी गरेसँगै अब योजना कार्यान्वयनको चरणमा प्रवेश गर्ने भएको छ। पत्रकार महासंघ र प्रदेश सरकारबीचको सहकार्य, पारदर्शिता, र नियमित समन्वय कायम गरिन सकेमा पत्रकारहरूको स्वास्थ्य सुरक्षामा दीर्घकालीन सुधार आउने विश्वास गरिएको छ।

