फिनटेक प्रवर्द्धनका लागि राष्ट्र बैंकको नयाँ नियामकीय पहल ‘रेगुलेटरी स्यान्डबक्स’

काठमाडौं । डिजिटल वित्तीय क्षेत्रमा नवप्रवर्तनको परीक्षण र प्रवर्द्धन गर्न अनुकूल नियामकीय वातावरण निर्माण गर्न नेपाल राष्ट्र बैंकले ‘रेगुलेटरी स्यान्डबक्स’ सम्बन्धी मस्यौदा सार्वजनिक गरेको छ। सुरक्षित, उत्तरदायी र प्रविधिनिर्भर वित्तीय नवप्रवर्तनलाई संस्थागत परीक्षणको माध्यमबाट प्रोत्साहन गर्न केन्द्रीय बैंकले ‘रेगुलेटरी स्यान्डबक्स’ गाइडलाइन जारी गर्न लागेको हो ।

पछिल्लो समय नेपालमा प्रविधिको तीव्र विस्तार, इन्टरनेट पहुँचको वृद्धि, स्मार्टफोनको व्यापक प्रयोग तथा डेटा कनेक्टिभिटीको लागतमा आएको गिरावटले वित्तीय सेवा क्षेत्रमा प्रविधिनिर्भर नवप्रवर्तनको सम्भावना बढाएको छ। त्यस्ता नवप्रवर्तनलाई प्रयोगात्मक परीक्षणका लागि नियामकीय सहजता आवश्यक ठहर गर्दै राष्ट्र बैंकले नयाँ पहल अघि सारेको हो।

डिजिटल वित्तीय सेवाको पहुँच, प्रयोग र गुणस्तरमा सुधार ल्याउने नवप्रवर्तनलाई प्रोत्साहन गर्न रेगुलेटरी स्यान्डबक्सको खाँचो राष्ट्र बैंकले महशुस गरेको छ।
रेगुलेटरी स्यान्डबक्स मार्फत ग्राहकको सुरक्षामा सम्झौता नगरी वास्तविक वातावरणमा प्रविधि परीक्षण हुने, परम्परागत वित्तीय संस्थाहरू र फिनटेक कम्पनीहरूबीच सहकार्य बढ्ने केन्द्रीय बैंकको अपेक्षा छ ।

वित्तीय सेवामा प्रतिस्पर्धा र दक्षता प्रवर्द्धन गर्नुका साथै ग्राहक हित संरक्षण हुने मस्यौदामा उल्लेख छ ।

प्रविधि सम्बन्धी जोखिम व्यवस्थापन र नियमन सुधारको लागि आधार तयार हुने मस्यौदामा लेखिएको छ।

स्यान्डबक्सले नवप्रवर्तन परीक्षणका लागि नियन्त्रित वातावरण तयार गर्छ जसमा लाइसेन्सप्राप्त बैंक तथा वित्तीय संस्थाहरू, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनी तथा फिनटेक स्टार्टअपले सहभागी भई नयाँ सेवा वा उत्पादन परीक्षण गर्न सक्छन्। सफल परीक्षणपछि यस्ता सेवा वा उत्पादनलाई पूर्ण व्यावसायिक रूपमा कार्यान्वयन गर्ने बाटो खुल्ने मस्यौदामा उल्लेख छ।

यसमार्फत डिजिटल केवाईसी, मोबाइल मनी, स्मार्ट कन्ट्र्याक्ट, साइबर सुरक्षा सेवा, र अन्य समावेशी वित्तीय सेवा परीक्षणका लागि छुट दिइनेछ। तर क्रिप्टोकरेन्सी, अनलाइन ग्याम्ब्लिङ जस्ता संवेदनशील क्षेत्रलाई भने स्यान्डबक्सबाहिर राखिएको छ।

नेपाल राष्ट्र बैंकले कार्यविधिका माध्यमबाट वित्तीय प्रविधिमा नवप्रवर्तनलाई नीति निर्माणमा पनि टेवा पुर्‍याउने लक्ष्य लिएको छ। स्यान्डबक्स सफल भएमा आगामी दिनमा नेपालमा फिनटेक प्रवर्द्धन र डिजिटल वित्तीय पहुँच विस्तारमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार