काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार कम्पनीले १२ महिनामा ४ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१८ प्रतिशत धेरै हो । अघिल्लो वर्ष लघुवित्तले १ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी १२ करोड ३८ लाखबाट बढेर १३ करोड ५७ लाख रुपैयाँ पुगेको छ । यता, प्रोभिजन रकम पनि अघिल्लो वर्षको तुलनामा घटेको छ ।
७ करोड ८३ लाख ४३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २२ करोड ३१ लाख रुपैयाँ जम्मा रहेको छ । यसको प्रतिसेयर आम्दानी ५७.०७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३८४.८२ रुपैयाँ छ । आत्मनिर्भरको सेयर लघुवित्त समूहमध्येको सबैभन्दा महँगो हो । यसको सेयर भाउ प्रतिकित्ता ५८०८.८८ रुपैयाँमा रहेको छ ।

