काठमाडौं । सञ्चालनमा रहेका ४६ वटा म्युचुअल फन्डहरुको सूचीकृत कम्पनीहरुको सेयरमा करिब साढे ४८ अर्ब रुपैयाँ भन्दा धेरैको लगानी रहेको छ । २०८२ को असारमसान्तसम्म आइपुग्दा यी फन्डहरुले ४८ अर्ब ४१ करोड १ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर होल्ड गरेका छन् । यो अघिल्लो महिना अर्थात, जेठको तुलनामा ६.५८ प्रतिशत धेरै हो । जेठमा फन्डहरुले ४५ अर्ब ४२ करोड ११ लाख रुपैयाँ बराबरको धितोपत्र होल्ड गरेका थियो ।
गएको महिना सेयर बजारमा वृद्धि देखिएको थियो । त्यसैले फन्डहरुको लगानीको आकार पनि बढेको पाइएको छ । म्युचुअल फन्डहरुको सेयर बजारमा ठूलो लगानी रहेको हुन्छ । त्यसैले सेयर बजार घट्दा वा बढ्दा न्याभसँगै लगानीको आकारमा पनि परिवर्तन आउँछ ।
तथ्यांक अनुसार असारसम्म सूचीकृत सेयरमा सबैभन्दा ठूलो लगानी एनआइबिएल सहभागिता फन्डको देखिएको छ । यसको बजारमा ४ अर्ब ९२ करोड लगानी छ । त्यस्तै, एनएमबि सरल बचत फन्ड-इ को ३ अर्ब ११ करोड रुपैयाँ लगानी देखिएको छ । यसअवधिसम्म १८ वटा फन्डको सूचीकृत कम्पनीको सेयरमा १ अर्ब भन्दा धेरैको लगानी देखिएको छ ।
सेयर बजारमा फन्डहरुको लगानी बढ्नु भनेको संस्थागत लगानीकर्ताको आकर्षण बढेको भन्ने बुझिन्छ । संस्थागत लगानीकर्ताले लगानी बढाउँदा बजारमा सकारात्मक माहोल बन्दै जान्छ । ठूलो लगानी भित्रिदा इन्डेक्स पनि बढ्ने सम्भावना हुन्छ ।
साथै, म्युचुअल फन्डले लगानी बढाउँदा बजारको भविष्यप्रति आशावादी दृष्टिकोण देखिन्छ । फन्ड व्यवस्थापकहरुलाई बजारको सम्भावना सकारात्मक लाग्दा मात्र उनीहरु पुँजी थप लगानी गर्छन् । यसले अन्य लगानीकर्तालाई पनि बजारमा विश्वास दिलाउन सहयोग पुर्याउँछ ।
म्युचुअल फन्डको लगानीले सेयरको मूल्यमा समर्थन प्रदान गर्ने सम्भावना पनि रहन्छ ।
विशेष गरी ब्लु-चिप र स्थिर लाभांश दिने कम्पनीहरुमा संस्थागत खरिदले मूल्यको सपोर्ट लेबल मजबुत बनाउँछ । यसरी म्युचुअल फन्डको लगानी बढ्नु भनेको बजारमा दीर्घकालीन पुँजीको आगमन, लगानीकर्ताको विश्वास वृद्धि, तरलताको विस्तार र मूल्य स्थिरताको संकेत हो ।
कुन फन्डको कति छ लगानी ?



