१ वर्षमा १५ प्रतिशतले बढे केवल इन्टरनेट प्रयोगकर्ता, छोटो समयमा यसरी वृद्धि आउनुको कारण के ?

काठमाडौं । पछिल्लो १ वर्षमा इन्टरनेट सेवाप्रदायक (आइएसपी)का ग्राहकसंख्यामा उच्च वृद्धि देखिएको छ । गत आर्थिक वर्षमा आइएसपीका ग्राहकसंख्या ३२ लाख ४८ हजार ६७४ (फिक्स ब्रोड ब्यान्ड) पुगेको छ । अघिल्लो वर्षको असारमा उक्त संख्या २८ लाख १७ हजार थिए । यो विभिन्न इन्टरनेट सेवाप्रदायक (आइएसपी)हरुले प्रदान गरेको वायरलेस, एडिएसएल, फाइबरसहितको तथ्यांक हो ।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार वर्ल्ड लिंकले हालसम्म १० लाख १२ हजार कनेक्सन विस्तार गरेका छ । २०८१ को असारमा उक्त संख्या ९ लाख १८ हजार थियो । दोस्रोमा, डिस मिडिया नेटवर्कको इन्टरेन्ट जडान संख्या ३ लाख ६१ हजार पुगेको छ । नेपाल दूरसञ्चार कम्पनीको ३ लाख ५४ हजार, भायानेटको ३ लाख १९ हजार वटा सब्सक्रिप्सन रहेका छन् ।

सबैभन्दा कम आइ जोन प्रालिको ५ हजार ६९७ वटा कनेक्सन देखिएको छ । १ वर्षको समयअवधिमा मात्रै ५ वटा इन्टरनेट सेवा प्रदायकहरुको कनेक्सन घटेको छ । यसले इन्टरनेट जडान गर्नेहरुको संख्यामा वृद्धि आएको देखाउँछ ।

यता, फोर जी प्रयोगकर्ताहरुको संख्या २ करोड ५६ लाख ३६ हजार रहेको छ । टू जी प्रयोगकर्ताहरुको संख्या ३१ लाख ५९ हजार, थ्रि जीका ८ लाख ६३ हजार रहेको तथ्यांकले देखाएको छ ।

नेपालमा पछिल्ला केही वर्षयता इन्टरनेट फाइबर सब्स्क्रिप्सन तीब्र रुपमा बढिरहेको छ। यस प्रवृत्तिका पछाडि प्राविधिक, आर्थिक तथा सामाजिक कारणहरुको संयुक्त प्रभाव रहेको देखिन्छ।

पहिले वायरलेस इन्टरनेट सेवाहरुको गति सीमित र कनेक्सन अस्थिर हुने समस्या थियो । यस्तो अवस्थाले उच्च गतिको इन्टरनेटको माग बढायो, जसको उत्कृष्ट विकल्प फाइबर इन्टरनेट बनेको छ । फाइबर प्रविधिले उच्च गति र स्थिरता इन्टनेट प्रदान गर्यो । यसले एचडी भिडियो स्ट्रिमिङ, अनलाइन गेमिङ, अनलाइन कक्षा, तथा ठूला फाइलहरु सजिलै डाउनलोड अपलोड गर्न सम्भव बनाएको छ ।

अर्कोतर्फ, प्रतिस्पर्धा बढ्दै जाँदा इन्टरनेट सेवा प्रदायकहरुले मूल्यमा कटौती गरेका छन् । मासिक शुल्क सस्तो हुनुका साथै विभिन्न अफर, डिस्काउन्ट, तथा बन्डल प्याकेजहरुले उपभोक्तालाई फाइबर सेवातर्फ आकर्षित गरेको छ ।

यसका अतिरिक्त, सरकारी नीति तथा निजी क्षेत्रको लगानीले ग्रामीण क्षेत्रमा समेत फाइबर इन्टरनेट विस्तार भइरहेको छ । पहिले इन्टरनेट सेवा नपुगेका धेरै गाउँहरुमा अहिले फाइबर नेटवर्क पुगेको छ, जसले ग्रामीण उपभोक्तालाई पनि आधुनिक डिजिटल सेवामा पहुँच पुर्याएको छ।

यता, सामाजिक र आर्थिक कारणले पनि फाइबरको माग बढाएको छ । अनलाइन शिक्षा, अनलाइन बैंकिङ, ई–कमर्स, र मोबाइल एपहरुको प्रयोग बढ्नुका साथै कोभिड–१९ महामारीपश्चात घरबाट काम गर्ने संस्कृतिले उच्च गतिको इन्टरनेटलाई अनिवार्य बनायो । फलस्वरुप उपभोक्ताहरुले स्थिर र छिटो इन्टरनेटका लागि फाइबर रोजिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार