काठमाडौं । उपकार लघुवित्त र गणपति लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । जसमध्ये उपकारले १२ महिनामा ३ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष यो कम्पनी घाटामा थियो ।
संस्थाको खुद ब्याज आम्दानी १३ करोड २९ लाखबाट बढेर १५ करोड ५३ लाख पुगेको छ । यता, प्रोभिजन ६ करोड ३९ लाखबाट घटेर १ करोड कायम भएको छ । ब्याज आम्दानी बढ्दा र प्रोभिजन घट्दा नाफामा सुधार आएको हो । १० करोड ६१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस संस्थाको जगेडा कोषमा १३ करोड ७ लाख रुपैयाँ जम्मा रहेको छ । प्रतिसेयर आम्दानी बढेर ३२.२६ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ भने १९०.९६ रुपैयाँ छ ।
यता, गणपतिले १२ महिनामा ४ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाले १ करोड ५२ लाख नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानी १२ करोड १९ लाखबाट बढेर १७ करोड २७ लाख पुगेको छ । साथै, इम्पेयरमेन्ट चार्ज रिभर्स भएको छ । जसकारण नाफामा सुधार आएको हो ।
१५ करोड १५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस संस्थाको जगेडा कोषमा ९ करोड ९ लाख रुपैयाँ जम्मा रहेको छ । प्रतिसेयर आम्दानी बढेर २८.०४ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ भने १७७.४५ रुपैयाँ छ ।

