उधारो उठाउने सम्बन्धी कानूनी व्यवस्था आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उधारो उठाउने सम्बन्धी कानूनी व्यवस्था आवश्यक रहेको बताएका छन् । जीतपुर सिमरा उद्योग वाणिज्य संघको ८ औं स्थापना दिवस तथा नवनिर्मित सभाहलको उद्घाटन गर्दै उनले उधारो उठाउने सम्बन्धी कार्यान्वयन योग्य कानुनी व्यवस्था आवश्यक रहेकोमा जोड दिए ।

उनले यस विषयमा महासंघले सरकार नियामक नियकासंग पैरवी गरिरहेको समेत बताए । महासंघले देशको आर्थिक विकासमा नेतृत्वदायी भूमिका खेल्दै आएको उल्लेख गर्दै अध्यक्ष ढकालले महासंघको पहल र पैरवीले सरकारले विभिन्न ३० वटा कानूनहरु संशोधन गरेको र यसबाट लगानी मैत्री वातावरण सिर्जना भएको बताएका छन् ।

उनले निजी क्षेत्रको सुदृढीकरणमार्फत देशको समग्र आर्थिक विकास सम्भव हुने धारणा व्यक्त गरे । यस्तै ढकालले महासंघले रोजगारदाता र श्रमिकसंगको सम्बन्ध सुमधुर बनाउन तथा न्यूनतम ज्याला तय गर्ने वियषमा पनि रचनात्मक ढंगले काम गरेको धारणा राखे  ।

अध्यक्ष ढकालले जीतपुर सिमरा उद्योग वाणिज्य संघले नीतिगत सुधारका लागि सुझाव प्रस्तुत गर्न, व्यवसायीहरूको समस्या समाधान गर्न र स्थानीय स्तरमा उद्यमशीलता प्रवद्र्धन गर्न सक्रिय रहनुपर्नेमा जोड दिएका छन् ।

जीतपुर सिमरालाई तराईको औद्योगिक केन्द्रको रूपमा उल्लेख गर्दै यस क्षेत्रको भौगोलिक अवस्थिति, सिमरा विमानस्थल तथा महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ जस्ता पूर्वाधारले व्यापार र उद्योगको अभूतपूर्व सम्भावना बोकेको उनको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार