ठूलालाई करोडौं उधारो दिँदा साना लगानीकर्ताले समयमै पाएनन् सेयर बिक्रीको पैसा, ब्रोकरलाई सेटलमेन्ट गर्न हम्मे हम्मे

काठमाडौं । अहिले अधिकांस ब्रोकर कम्पनीहरुले सेयर बिक्री गरेको पैसा लगानीकर्तालाई दिन सकेका छैनन् । केही ब्रोकरहरुले त हप्तौसम्म पनि सेयर बिक्री गरेको रकम दिएका छैनन् । उनीहरुले सिस्टममा समस्या आएको, भुक्तानीका लागि प्रकृया अगाडि बढाइएको जस्ता कारण बताउँदै आएका छन् । तर, यो सबै ब्रोकरहरुले लगानीकर्तालाई अल्मलाउने बाटो रहेको देखिएको छ ।

यद्दपि, यसको मुख्य समस्या भनेको ठूला लगानीकर्तालाई करोडौं रकम उधारोमा कारोबार गर्न दिनाले पैदा भएको हो । बजार उच्च अंकमा पुगेको बेला मनलाग्दी ढंगले कोल्याट्रल राखिदिने र जति पनि सेयर खरिद गर्न दिंदा यस्तो अवस्था आएको हो ।

यस्तो बेला यदि बजार बढ्यो भने सेयर बिक्री गरेर पनि ठूला लगानीकर्ताले ब्रोकरको उधारो तिर्छन् । तर, अहिलेको जस्तै बजार घट्यो भने उनीहरुले घाटामा सेयर बिक्री गर्ने कुरा भएन । र, उधारोको कारोबार सेटलमेन्ट गर्न ब्रोकरले साना लगानीकर्तालाई तिर्नु पर्ने पैसा होल्डमा राख्छन् । र, सेटलमेन्ट गर्छन् ।

अहिले भएको पनि यस्तै हो । र, पहिला हुने गरेको पनि यस्तै थियो । त्यसो त, यस्तो समस्या नयाँ भने होइन । ब्रोकरहरुले बेला बेला लगानीकर्ताको रकम समयमै तिर्न नसकेको घटना बारम्बार दोहोरिएको छ । उधारो बढेको कारण यस्तो समस्या देखिएको एक ब्रोकरले बताए ।

उनले भने, ‘उधारको रकम बढेको हुँनाले यस्तो समस्या देखिएको हो । मार्जिन लेन्डिङको व्यवस्था सहज भएको भए यस्तो हुने थिएन । तर, सबै ब्रोकरमा सेटलमेन्टको समस्या छैन । केहीमा मात्र यस्तो देखिएको हो ।’

त्यसो त, ब्रोकर कम्पनीहरुले अहिलेको उधारो दिनमिल्ने व्यवस्था नै हटाउनु पर्ने माग राखेका छन् । उनीहरुले उधारो व्यवस्था नहटेसम्म सेटलमेन्टको समस्या देखिने बताउँछन् ।

यता, नेप्सेले समयमा रकम फिर्ता नगर्ने ब्रोकरलाई ब्याज सहित फिर्ता गर्न भनेको छ । तर, ब्रोकरले दिने २ -३ प्रतिशत ब्याजले पक्कै लगानीकर्ताको समस्या समाधान हुँदैन । अहिले टी प्लस टु सेटलमेन्टको व्यवस्था छ । यस प्रणालीले सेयर खरिद बिक्रीको कारोबार पछिको भुक्तानी तथा सेयर ट्रान्सफरको समय सीमालाई स्पष्ट बनाएको छ ।  ‘टी प्लस २’ को अर्थ ट्रेड डे पछि २ कार्य दिनभित्र सेटलमेन्ट सम्पन्न गर्नु हो ।

जब कुनै लगानीकर्ताले सेयर बिक्री गर्छन्, त्यतिबेला उनले तुरुन्त पैसा पाउँदैनन् । त्यसको लागि निश्चित प्रक्रिया हुन्छ । जुन दिन सेयर बिक्री हुन्छ, त्यसलाई टी भनिन्छ । त्यसपछि २ कार्य दिनभित्र सेयर खरिदकर्ताको नाममा सेयर ट्रान्सफर हुन्छ र बिक्री गर्ने व्यक्तिको बैंक खातामा पैसा जम्मा गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार