काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाईमा)को आयोजनामा आजदेखि पहिलोपटक नेपाल मोबिलिटी एक्स्पो अटो शो सुरु भएको छ। भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म हुने प्रदर्शनीमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डको सहभागिता रहने आयोजकले जनाएको छ।
नाईमा अनुसार, प्रदर्शनीमा ३५ नयाँ सवारीसाधन सार्वजनिक गरिनेछ । जसमा १५ वटा दुईपांग्रे, १५ वटा चारपांग्रे तथा ५ वटा व्यावसायिक सवारीसमेत समावेश छन्। विद्युतीय सवारी र नवीनतम मोबिलिटी समाधानलाई विशेष प्राथमिकता दिइएको यस अटो शोमा स्थापित ठूला ब्रान्डदेखि नयाँ ईभी ब्रान्डहरु पनि प्रस्तुत हुनेछन्।
नाईमाले स्टलहरूलाई फरक, आकर्षक र सहज बनाउने प्रयास भएको जानकारी दिएको छ। आयोजकका अनुसार अपांगता मैत्री संरचना बनाइएको छ। कर्पोरेट घराना, आयातकर्ता र निर्माताहरू ग्राहक आकर्षणका लागि रणनीति बनाएका छन्।
नाईमाका कार्यकारी निर्देशक राज कुमार दुलाले स्टलहरू विशेष बनाइने जानकारी दिँदै, यस प्रदर्शनीमा अत्याधुनिक प्रविधियुक्त सवारीसाधन कम मूल्यमा उपलब्ध गराउने प्रयत्नसमेत भइरहेको बताए। कतिपय कम्पनीहरू ब्रान्डिङ, मार्केटिङ र अफर योजनामा आक्रामक ढंगले प्रस्तुत हुन लागिपरेका छन्।
नाईमाकी अध्यक्ष रितु सिंह वैद्यले विद्युतीय सवारीसाधन (ईभी) लाई ग्ल्यामर प्रोडक्ट भन्दै यसले मोबिलिटीको भविष्य बदल्ने विश्वास व्यक्त गरेकी छन्। उनले नाइमा नेपाल मोबिलिटी एक्स्पोलाई नेपालकै सबैभन्दा ठूलो र प्रभावशाली अटोमोबाइल प्रदर्शनी बन्ने दाबीसमेत गरेकी छन्।
नाडा–नाइमा प्रतिस्पर्धा
नेपाल मोबिलिटी एक्स्पो अटो शो नाईमाले आयोजना गर्न लागेको हो। नाईमा गत वर्ष स्थापित भए पनि यसको नेतृत्वमा अटोमोबाइल क्षेत्रमै लामो समयदेखि क्रियाशील व्यवसायीहरू छन्। केही व्यवसायीले नाईमा नाडाबाट टुक्रिएको संस्थाको रूपमा हेरेका छन्।
नाडा र नाईमाले २०८१ चैतमा प्रेस विज्ञप्ती जारी गर्दै सवारी साधन क्षेत्रको समग्र विकासप्रति प्रतिबद्ध भएको भन्दै सहकार्य गरिएको जानकारी दिएका थिए।
नेपालको अटोमोबाइल क्षेत्र दिगोपन, नवप्रवर्तन र नीतिगत स्थिरतातर्फ अग्रसर हुँदै गर्दा, नाडा र नाइमा दुवै संस्थाहरू व्यवसायीहरूको हक र हितको संरक्षण, उद्योगमैत्री नीति निर्माणमा सहकार्य, तथा समग्र क्षेत्रको प्रगतिमा पूर्ण रूपमा प्रतिबद्ध भएको जनाएका थिए।
तर सहकार्यको सहमतिपछि पनि नाईमाले तुरुन्तै अटो शोको घोषणा गरेपछि अटो व्यवसायीहरू दुई धारमा विभाजित भएको बुझिएको छ। नाईमाको शो सकिएलगत्तै नाडाले पनि छुट्टै अटो शो गर्ने तयारी गरिरहेकाले बजारमा तीव्र प्रतिस्पर्धा सुरु भइसकेको छ। नाडा अटो शो भदौ ३ गतेदेखि भृकुटीमण्डमै आयोजना हुँदैछ।

