काठमाडौं । गत आर्थिक वर्ष ओटीसी मार्केटमा २ अर्ब ९५ करोड रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ । जसमध्ये प्रोफेसनल एजुकेसन लिमिटेडको सबैभन्दा धेरै ४८ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
हालसालै आइपीओ बिक्रीको अनुमति पाएको सागर डिस्टिलरीको १४ करोड रुपैयाँको कारोबार भएको छ । यता, आइपीओ बिक्रीको तयारीमा रहेको मेडिकेयर हस्पिटलको ३८ करोड ५४ लाख, सर्वोत्तम स्टील्सको २७ करोड ७५ लाख, टाइम फार्मास्युटिकल्सको ११ करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
गत वर्ष ४९ वटा कम्पनीको ८१ पटक विभिन्न मितिमा ओटीसी मार्केटबाट सेयर कारोबार भएको छ । कुल १ करोड ७८ लाख ७८ हजार कित्ता सेयर कारोबार भएको देखिन्छ । ओटीसीमा खरिदबिक्री भएका धेरै जसो कम्पनीहरु आइपीओ बिक्रीको तयारीमा छन् ।
केहीले आइपीओ प्रस्ताव साधारण सभामा पेश गरेका छन् भने केहीले नेपाल धितोपत्र बोर्डमा आइपीओ बिक्रीका लागि आवेदन दिएका छन् ।
तथ्यांक अनुसार आर्थिक वर्ष २०८१-८२ मा ओटीसीमा कारोबार भएका कम्पनीमध्ये ट्रेड टावरको सेयर नेप्सेमा सूचीकृत भइ सकेको छ । यसको अहिले नियमित कारोबार हुने गरेको छ । ट्रेड टावरको सेयर विभिन्न मितिमा प्रति कित्ता १०७ रुपैयाँको दरले किनबेच भएको थियो ।
कन कुन कम्पनीको भयो कारोबार ?


ओटीसी मार्केट के हो ?
सूचीकृत कम्पनीहरुको नियमित सेयर कारोबार गर्ने प्लेटफर्म नेप्सेलाई मानिन्छ । तर, नेप्सेमा सूचीबद्ध नभएका कम्पनीका सेयरहरुको पनि कारोबार हुने अर्को व्यवस्था छ, जसलाई ओटीसी मार्केट (ओबर द काउन्टर) भनिन्छ । यो बजार सेयर कारोबारको वैकल्पिक माध्यम हो, जुन औपचारिक स्टक एक्सचेन्जबाहिर सञ्चालन हुन्छ ।
ओटीसी मार्केट भन्नाले यस्तो बजार हो जहाँ नेप्सेमा सूचीबद्ध नभएका कम्पनीका सेयरहरु, ऋणपत्रहरु वा अन्य वित्तीय साधनहरुको कारोबार हुन्छ । यो बजारको मुख्य उद्देश्य नन् लिस्टेड कम्पनीका सेयरधनीहरुलाई बेच्न र खरिद गर्न सुविधा उपलब्ध गराउनु हो । यस्तो बजारले सेयर कारोबारलाई व्यापक बनाउने, वैकल्पिक लगानी अवसरहरु प्रदान गर्ने र वित्तीय पहुँचलाई सुलभ बनाउने काम गर्छ ।
ओटीसी कारोबार नेप्सेमा जस्तै अनलाइन अर्डर बुक प्रणालीमा हुँदैन । यसको प्रक्रिया सीधा बिक्रेताले आफ्नो सेयर बेच्ने प्रस्ताव गर्छ र खरिदकर्ताले सो मूल्यमा सहमति जनाएमा नेप्सेले त्यसलाई प्रमाणित गर्छ । कारोबार भएपछि खरिदकर्ता र बिक्रेताबीच नामसारी, रकम भुक्तानी र कर तिर्ने प्रक्रिया पूरा गरिन्छ । यसमा सेयरको मूल्य खरिदकर्ता र बिक्रेताबीच आपसी सहमतिमा निर्धारण हुन्छ ।

