काठमाडौं । वर्णबास म्युजियम होटल लिमिटेडले गत वर्षको ११ महिनामा १ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष (सन् २०२४) यस कम्पनीले ९० लाख आम्दानी गरेको केयर रेटिङ नेपालले जनाएको छ । वर्णबासलाई एजेन्सीले ‘केयर एनपी बी माइनस’ रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीले आफ्नो वित्तीय दायित्वहरु समयमै तिर्न नसक्ने उच्च जोखिम रहेको संकेत गर्छ ।
उच्च सञ्चालन लागतका कारण कम्पनीको ऋण तिर्ने क्षमता कमजोर देखिएको छ । हाल कम्पनीको पुँजी संरचना अत्यधिक ऋणमा आधारित रहेको बताइएको छ । वर्तमान अवस्थामा पनि कम्पनीलाई लगानीकर्ताहरुको थप इक्विटी सहयोग आवश्यक परेको छ । आगामी वर्षहरुमा पनि बाह्य सहयोगकै भर पर्ने सम्भावना रहेको एजेन्सीको मूल्याङ्कन छ ।
रेटिङले होटल क्षेत्रसँग सम्बन्धित अन्य जोखिमहरु पनि औंल्याएको छ । यसमा लामो समय लाग्ने लगानी फिर्ता, ब्याजदरको उतारचढाव, काठमाडौंमा बढ्दो प्रतिस्पर्धा र भूगोलको आधारमा केन्द्रित व्यवसाय प्रमुख छन् । वर्णबासले ४८ कोठा क्षमताको पाँचतारे होटल संचालनमा ल्याएको छ जसमा आधुनिक सुविधा, रेष्टुरेन्ट, स्विमिङ पुल, स्पा र सम्मेलन कक्ष छन् ।
कम्पनीले फेब्रुअरी २०२४ बाट सञ्चालन थालेको हो । वर्णबास म्युजियम होटल लिमिटेडले ३९ लाख ६० हजार कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

