काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४ अर्ब १५ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.२८ प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८९ करोड रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी १० अर्ब ५५ करोडबाट घटेर ९ अर्ब ८२ करोड रुपैयाँ कायम भएको छ । यता, इम्पेयरमेन्ट चार्ज भने घटेर १० करोड ६२ लाख कायम भएको छ । अघिल्लो वर्षको इम्पेयरमेन्ट चार्ज २ अर्ब ४५ करोड थियो । त्यसैले ब्याज आम्दानी घट्दा पनि नाफामा वृद्धि देखिएको हो ।
१९ अर्ब २८ करोड ७९ लाख रुपैयाँ चुक्ता पुँजी (प्रिफरेन्स सेयरसहित) रहेको यस बैंकको जगेडा कोषमा १६ अर्ब ९९ करोड रुपैयाँ जम्मा रहेको छ । प्रतिसेयर आम्दानी २७.६३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २४१.०४ रुपैयाँ रहेको छ । एनपीएल ३.२६ प्रतिशत कायम भएको छ । यस बैंकको लाभांश वितरण क्षमाता १८.४२ प्रतिशत छ ।

