प्रधानमन्त्री ओलीद्वारा नाडा अटो शो २०२५ उद्घाटन हुने, उड्ने कार प्रदर्शन गरिने

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आगामी भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको १७औं संस्करणको नाडा अटो शो २०२५ प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गरिने भएको छ।

आइतबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा प्रधानमन्त्री ओलीसँग भेट गरी अटो शोको प्रमुख अतिथिको रूपमा उद्घाटन गरिदिन औपचारिक अनुरोध गरिएको थियो। उक्त अनुरोधलाई प्रधानमन्त्री ओलीले सहर्ष स्वीकार गरेको नाडाले जनाएको छ।

अध्यक्ष चौधरीका अनुसार यस वर्षको अटो शो नाडा स्थापनाको ५०औं वार्षिकोत्सवको अवसरमा आयोजना हुँदैछ। कार्यक्रममा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारीसाधनका ब्रान्ड, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधान, भिन्टेज मोटर शो, साथै पहिलोपटक नेपालमा प्रदर्शन हुँदै गरेका अत्याधुनिक UNITREE रोबोट र Deepal eVTOL UAV भविष्यमुखी प्रविधिहरू प्रदर्शनीको आकर्षण हुनेछन्।

भेटका क्रममा अटोमोबाइल व्यवसायीहरूले प्रधानमन्त्रीको उपस्थितिलाई हौसला र प्रेरणाको स्रोतका रूपमा लिएको बताएका छन्। सो अवसरमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह–कोषाध्यक्ष पंकज अग्रवाल तथा केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेलको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार