काठमाडौं । गत आवको असारसम्म ३७ अर्ब रुपैयाँ बराबरको विशिष्टीकृत लगानी कोष दर्ता तथा स्वीकृत भएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार १५ मध्ये ११ वटा पीइभीसीले उक्त रकम बराबरको कोष सञ्चालनका लागि अनुमति पाएका छन् । नवीनतम ज्ञान, सीप-क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पतिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई सञ्चालन गर्न लगानीको नयाँ स्रोतको व्यवस्था गर्नसक्ने गरी नेपाल धितोपत्र बोर्डले २०७५ मा विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ कार्यान्वयनमा ल्याएको थियो ।
नयाँ व्यवसायहरु सुरुवात गर्न स्वदेशी तथा वैदेशिक लगानीका भेन्चर क्यापिटल, प्राइभेट इक्विटी फन्ड, हेज फन्डमार्फत अर्थतन्त्रमा लगानीको नयाँ स्रोतको व्यवस्था गर्ने उद्देश्यसहित सो नियमावली कार्यान्वयनमा ल्याइएको थियो । हालसम्म १५ वटा फन्डहरुले कोष सञ्चालनका लागि अनुमति पाएका छन् । जसमध्ये बोर्डले म्याभरिक कौटिल्य भेन्चर र मोघा इनफ्राब्लाक्स प्राइभेट लिमिटेडलाई पीईभीसी सञ्चालनका लागि साउनको दोस्रो साता अनुमति प्रदान गरेको थियो ।
बोर्डका अनुसार गत वर्ष मात्रै ४ वटाले ६ अर्ब ५० करोड रुपैयाँ बराबरको थप फन्ड जुटाएका छन् । जसमध्ये नेसनल हाइड्रो फन्ड -२ (नेसनल फन्ड म्यानेजर)ले ५० करोड, नेपाल इम्प्याक्ट फन्ड-१ (स्वडा इक्विटी)ले २ अर्ब १० करोड, ग्लोबल इक्विटीले १ अर्ब र अल्फा प्लस भिजन-२ (अल्फा प्लस भेन्चर्स लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको स्रोत जुटाएका हुन् ।
यता, नेपाल प्राइभेट इक्विटी एसोसियसनका अनुसार सन् २०२३ मा ८ वटा फन्डहरुले ३ करोड ५० लाख डलर बराबरको कोष स्थापना गरेका छन् । सन् २०१२ देखि २०२३ सम्म पीइभीसीहरुले १० करोड १० लाख डलर अर्थात, करिब १४ अर्ब रुपैयाँ बराबरको कोष सञ्चालन गरेको पाइएको छ । यो सन् २०२३ सम्मको डाटा हो । गत असारसम्म कोषको आकार बढेर ३७ अर्ब पुगेको छ । करिब साढे २ वर्षको अन्तरालमा फन्डहरुको कोषको आकार ह्वातै बढेको छ ।
विशिष्टीकृत लगानी कोष (स्पेसलाइज्ड इन्भेष्टमेन्ट फन्ड) भनेको के हो ?
‘स्पेसलाइज्ड इन्भेष्टमेन्ट फन्ड’ भन्नाले विशेष प्रकारका लगानी कोष सञ्चालन, व्यवस्थापन र प्रशासन गर्ने अधिकार प्राप्त संस्था वा कम्पनीलाई जनाइन्छ । यस्तो कोष प्रायः संस्थागत लगानीकर्ता, उच्च नेटवर्थ भएका व्यक्ति तथा योग्य लगानीकर्तालाई लक्षित गरिन्छ ।
विशेष लगानी कोषमार्फत लामो समयका परियोजना, वैकल्पिक लगानी तथा विशेष क्षेत्रका व्यवसायमा पुँजी प्रवाह गरिन्छ । म्यानेजरको भूमिकामा कोषको संरचना तयार पार्ने, लगानी नीति तय गर्ने, प्रशासन तथा जोखिम व्यवस्थापन गर्ने र कानुनी–नियामकीय पालनामा ध्यान दिने कार्य समावेश हुन्छ । विशेष लगानी कोषका उदाहरणमा प्राइभेट इक्विटी फन्ड, हेज फन्ड र भेन्चर क्यापिटल फन्ड पर्छन् ।
विशिष्टीकृत लगानी कोष किन आवश्यक हुन्छ ?
विशिष्टीकृत लगानी कोष भन्ने अवधारणा आधुनिक पुँजी बजारमा एक महत्वपूर्ण साधनका रुपमा विकसित भएको छ । यो प्रकारको लगानी कोष विशेषगरी ठूलो पुँजी आवश्यक पर्ने, दीर्घकालीन प्रतिफल दिने र अलि बढी जोखिम भएका परियोजनामा लगानी गर्नका लागि डिजाइन गरिएको हुन्छ ।
सामान्य म्युचुअल फन्ड वा परम्परागत सेयर बजारले यस्ता परियोजनामा पर्याप्त वित्तीय स्रोत उपलब्ध गराउन सक्दैनन् । त्यसैले यस्तो कोषको आवश्यकता आजको आर्थिक संरचनामा अझ स्पष्ट देखिन्छ । नेपालको सन्दर्भमा हेर्दा ऊर्जा, पूर्वाधार (इन्फ्रास्ट्रक्चर), प्रविधि, स्टार्टअप, पर्यटन र वैकल्पिक लगानीका अन्य क्षेत्रमा दीर्घकालीन र ठूलो लगानीको खाँचो छ ।
यस्ता क्षेत्रमा सामान्य खुद्रा लगानीकर्ताले लगानी गर्न सक्दैनन्, किनभने रकम ठूलो चाहिन्छ र जोखिमको स्तर पनि बढी हुन्छ । तर, संस्थागत लगानीकर्ता, उच्च नेटवर्थ भएका व्यक्ति तथा विदेशी लगानीकर्ताबाट ठूलो रकम संकलन गर्न एसआइएफ एउटा प्रभावकारी माध्यम हो ।
यस प्रकारको कोषले केवल पुँजीको आपूर्ति मात्र गर्दैन, बरु अर्थतन्त्रमा नयाँ रोजगारी सिर्जना, उद्योग विस्तार, प्रविधिको विकास र दीर्घकालीन आर्थिक वृद्धिमा योगदान पुर्याउँछ । साथै, विदेशी लगानी भित्र्याउने र देशको पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धी बनाउन पनि यसले भूमिका खेल्छ ।
समग्रमा विशेष लगानी कोष आधुनिक वित्तीय बजारमा एक अपरिहार्य साधन हो जसले जोखिम र प्रतिफलको सन्तुलन गर्दै दीर्घकालीन परियोजना तथा नवप्रवर्तनशील क्षेत्रमा पुँजी प्रवाह सुनिश्चित गर्छ । यस्तो कोषको विकास र सञ्चालनले कुनै पनि मुलुकको आर्थिक संरचना बलियो बनाउन मद्दत पुर्याउँछ ।
नेपाल धितोपत्र बोर्डले अनुमति दिएका १५ वटा विशिष्टीकृत लगानी कोषहरुः


