काठमाडौं । अगस्ट १० सम्म भारतीय स्टक मार्केटबाट १८ हजार करोड रुपैयाँ (भारु) बराबरको लगानी बाहिरिएको छ । विदेशी लगानीकर्ताहरुले १० दिनमा १८ हजार करोड भारतीय रुपैयाँ भन्दा धेरैको धितोपत्र बिक्री गरेका छन् । अमेरिका र भारतबीचको व्यापार तनाव बढेसँगै विदेशी लगानीकर्ताले पुँजी फिर्ता लिँदै लगानी निकालेको द हिन्दुले जनाएको छ ।
यससँगै, निक्षेप निकायका तथ्यांक अनुसार सन् २०२५ को यसअवधिसम्म विदेशी पोर्टफोलियो लगानीकर्ताहरु (एफपीआई) ले सेयर बजारबाट १.१३ लाख करोड रुपैयाँको पुँजी झिकेका छन् । जसले भारतीय रुपैयाँ कमजोर बनाएको छ ।
अगस्ट १ बाट भारतका निर्यातमा अमेरिकाले तोकेको २५ प्रतिशत भन्सार कर लागू हुने तय भएपनि यसलाई अगस्ट ७ सम्म सारिएको थियो । यसबीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप २५ प्रतिशत भन्सार कर लागू हुने घोषणा गरे, जससँगै भारतीय वस्तुहरुमा कुल भन्सार कर ५० प्रतिशत पुग्ने भयो ।
यी बढेका भन्सार करहरुले बजार र एफपीआईलाई त्रसित बनाए, जसका कारण भारतीय सेयरमा ठूलो मात्रामा बिक्री भएको एन्जल वानका वरिष्ठ आधारभूत विश्लेषक तथा सीएफए वाकरजावेद खानले बताए । खानका अनुसार आगामी दिनमा पनि एफपीआईको मनोबल जोखिमबाट टाढा रहने सम्भावना छ, किनकि आगामी हप्तामा व्यापार वार्ता हेर्नुपर्ने प्रमुख पक्ष बन्नेछन् ।
मर्निङस्टार इन्भेस्टमेन्ट रिसर्च इन्डियाका निर्देशक हिमांशु श्रीवास्तवले पनि कम्पनीहरुको पहिलो त्रैमासिकको कमजोर नाफा र भारतीय रुपैयाँ कमजोर हुनुमा अमेरिका भारत व्यापार तनावलाई दोष दिएको बताए ।
उनका अनुसार भन्सार करसँगै अमेरिकामा ट्रेजरी प्रतिफल बढ्दा विदेशी पुँजी अमेरिकी ट्रेजरीतर्फ आकर्षित भएको हो ।

