काठमाडौं । बुधबारदेखि सुरु भएको पहिलो नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ सोमबार सम्पन्न भएको छ।
नेपाल अटो इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा भएको एक्स्पो अपेक्षाभन्दा भव्य भएको अध्यक्ष ऋतृ सिंह वैद्यले समापन कार्यक्रममा बताइन्।

पाँच दिनका लागि भनेर सुरु गरिएको प्रदर्शनमा अवलोनकर्ताको उल्लेखनीय सहभागीताबाट उत्साहित भएर आयोजकले एक दिन लम्बाएका थिए। छ दिनमा करिब १ लाख अवलोकनकर्ताले सहभागिता जनाएका सिंहले जानकारी दिइन्।

एक्स्पो अवधिभर २ हजार ५ सयभन्दा बढी गाडी बुकिङ भएको आयोजकको दाबी छ। अध्यक्ष वैद्यले, “यसपटकको पहिलो एक्स्पो भव्य रुपमा सम्पन्न भयो। गाडी बिक्री मात्र नभई उपभोक्तासँग प्रत्यक्ष अन्तर्क्रिया हुने अवसर पनि प्राप्त भयो।” उनले आगामी वर्ष आयोजना हुने दोस्रो संस्करणलाई अझै भव्य र प्रभावकारी बनाउने तयारी भइरहेको उल्लेख गरिन्।

यो पहिलोपटक काठमाडौंमा आयोजना भएको मोबिलिटी एक्स्पोमा चार पांग्रे सवारीतर्फ बीवाईडी, सिट्रोन, फोरथिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टस्, हुन्डाई, काई, किया, लिप मोटर्स, एलईभी १, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिशी, निसान, ओमडा र जेको, प्युज्यो, प्रोटन, रेनल्ट, टोयोटा, फक्सवागन र जिकर लगायतका ब्रान्ड सहभागी भए।

दुई पांग्रे सवारीतर्फ एम्पेयर, एथर, बजाज, बेनेली, सिएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयु, रिभोल्ट, रोयल इन्फिल्ड, सेगवे नाइनबोट, सुजुकी, ट्राइम्प, टिभिएस, अल्ट्रा भाइलट, याडिया र जिहोका मोडेल प्रदर्शनमा राखिएका थिए।
अवलोकनकर्तालाई आकर्षित गर्न सहभागी कम्पनीहरूले २५ लाख रुपैयाँसम्मको नगद छुटमा गाडी बुकिङ सुविधा उपलब्ध गराएका थिए। यस वर्षको एक्स्पोमा विगतका अटो शोको तुलनामा खुला र फराकिलो स्टल निर्माण गरिएकाले बिक्रेता र दर्शक दुवैलाई सहज वातावरण मिलेको नाइमा पक्षको भनाइ छ।

