काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.१५ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ६१ करोडबाट घटेर १० अर्ब ४५ करोड रुपैयाँ कायम भएको छ । फि तथा कमिसनबाट हुने आम्दानी बढेको छ । यद्दपि, बैंकको इम्पेयरमेन्ट चार्ज घटेको छ । उक्त चार्ज घट्दा नाफामा सुधार देखिएको हो ।
२१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २३ अर्ब ३५ करोड रुपैयाँ जम्मा रहेको छ । बैंकको प्रतिसेयर आम्दानी बढेर ६.९८ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १७५.०७ रुपैयाँ छ । बैंकको लाभांश वितरण क्षमता ऋणात्मक छ । एनपीएल घटेर ७.२८ प्रतिशत कायम भएको छ ।

