काठमाडौं । राजनीतिक बजारमा प्रधानमन्त्रीले नेतृत्व सम्मालेको १ बर्ष पुरा भएसँगै कार्यसम्पादनमा कमजोर मन्त्री परिबर्तह हुने चर्चा बीच प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता गर्न लागेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजे मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै कार्यसम्पादन सम्झौता हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ । गत वर्ष भदौ २७ गते यस प्रकारको कार्यसम्पादन सम्झौता भएको थियो भने यस वर्ष झण्डै एक महिना अगाडि सम्झौता हुन लागेकाले वर्षभरी गरिने काम तथा सम्पादनलाई छिटो र प्रभावकारी बनाउन सम्झौता मुख्य आधार बन्ने प्रधानमन्त्री ओलीका निजी सचिव विनोदबहादुर कुँवरले जानकारी दिएका हुन् ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न थालिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौताको अभ्यास प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ गरिएको हो । प्रधानमन्त्रीसँग मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरुले सम्बन्धित सचिवहरुसँग कार्यसम्पादन सम्झौता गर्नुपर्नेछ ।

