काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४५ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.६६ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस कम्पनीले ४४ करोड ५३ लाख नाफा कमाएको थियो ।
खुद बीमाशुल्क संकलन १ अर्ब २९ करोडबाट बढेर १ अर्ब ७१ करोड पुगेको छ । यता, लगानी तथा कर्जाबाट हुने आम्दानी घटेको छ । कुल आम्दानी भने २ अर्ब ४४ करोडबाट बढेर २ अर्ब ७३ करोड पुगेको छ । त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी २१.९५ प्रतिशत बढेको छ ।
२ अर्ब ९२ करोड ३० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको रिटेन्ड अर्निङ्गमा २१ करोड १७ लाख रुपैयाँ कायम भएको छ । यता, प्रतिसेयर आम्दानी १५.४९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९८.९७ रुपैयाँ छ ।

