काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय, बुटवललाई प्रिन्टर हस्तान्तरण गरेको छ । कामना सेवा विकास बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले कार्यालयका प्रमुख प्रहरी नायाब उपरीक्षक इन्द्र बहादुर रानालाई प्रिन्टर हस्तान्तरण हस्तान्तरण गरेका हुन् ।
सञ्चालक तुलाचनको अध्यक्षता र प्रमुख प्रहरी नायब उपरीक्षक रानाको प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रहरी निरिक्षक धर्मराज खत्री र सालिकराम खनाल र बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा वोल्दै प्रहरी नायब उपरीक्षक रानाले सो प्रिन्टर कार्यालयको महिला, बाल–बालिका तथा जेष्ठ नागरिक सहायता शाखामा प्रयोग गरिने र कार्यालयले प्रदान गर्ने सेवा प्रवाहमा थप प्रभावकारी बनाउन समेत सहयोग पुग्ने बताए । उक्त कार्यक्रममा बोल्दै सञ्चालक तुलाचनले समुदायप्रति बैंकको उत्तरदायित्व र आगामी दिनहरुमा पनि यस्ता सहयोग जारी रहने तथा नेपाल प्रहरीसँगको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रमको सञ्चालन बैंकका बुटवल क्षेत्रीय प्रमुख हेमन्त बाबु आचार्यले गरेका हुन् ।

