काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाका लागि ब्याजदर घटाएका छन् । वाणिज्य बैंक्हरुले भदौ महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुरुप ब्याजदर घटाइएको पाइएको छ ।
वाणिज्य बैंकहरुले भदौका लागि व्यक्तिगत मुद्दति निक्षेपका लागि औसत ५.५७ प्रतिशत ब्याजदर कायम गरेका छन् । साउनका लागि व्यक्तिगत मुद्दति निक्षेपका लागि औसतमा ५.६९ प्रतिशत ब्याजदर कायम गरिएको थियो । यो सँगै औसतमा व्यक्तिगत मुद्दति निक्षेपका लागि वाणिज्य बैंकहरुले साउनको तुलनामा भदौका लागि ०.१२ प्रतिशतले ब्याजदरमा कमी ल्याएको हो ।
वाणिज्य बैंकहरुले भदौका लागि संस्थागत मुद्दति निक्षेपका लागि औसत ३.९६ प्रतिशत ब्याजदर कायम गरेका छन् । साउनका लागि संस्थागत मुद्दति निक्षेपका लागि औसतमा ४.११ प्रतिशत ब्याजदर कायम गरिएको थियो । यो सँगै औसतमा संस्थागत मुद्दति निक्षेपका लागि वाणिज्य बैंकहरुले साउनको तुलनामा भदौका लागि ०.१५ प्रतिशतले ब्याजदरमा कमी ल्याएको हो ।
भदौका लागि १ वटा बैंकले ब्याजदर बढाँउदा ८ वटाले ब्याजदर घटाएका छन् । मुद्दति निक्षेपका लागि ब्याजदर बढाउनेमा प्रभु बैंक रहेको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक र नेपाल एसबिआई बैंकले ब्याजदर घटाएका छन् ।
पछिल्लो समयमा बैंकहरुले लगातार ब्याजदर घटाइरहेका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको छ । कर्जा प्रवाह हुन नसक्दा बैंक तथा वित्तीय संस्थाहरु चलयामान हुन सकेका छैनन् । बैंकहरुमा गैरबैंकिङ सम्पत्ति बढ्दै गएको छ भने कर्जा प्रवाह न्यून रहेको छ । सरकारको नीतिगत अवरोधका कारण निजी क्षेत्र चलयामान हुन नसक्दा कर्जा प्रवाह खुम्चिएको हो । निजी क्षेत्रले चालु पुँजी कर्जा नीति खारेज गर्न माग समेत गरेका छन् । ब्याजदर घट्दै जाँदा बेसरेट पनि घट्दै जानेछ , जसले गर्दा कर्जाको ब्याजदर थप घटाउने निश्चित रहेको छ ।


