काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत आर्थिक वर्षमा १ हजार ९०० माइलस्टोन तय गरेकोमा १ हजार २३६ वटा माइलस्टोन सम्पन्न गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार बजेट कार्यान्वयनको समीक्षाका क्रममा आर्थिक वर्ष २०८१÷८२ मा प्रधानमन्त्री र मन्त्रीहरूबीच भएको कार्यसम्पादन सम्झौता अनुसार उक्त काम भएको हो । उक्त सम्झौता अनुरुप प्रधानमन्त्री र मन्त्रीहरुले जम्मा ६६४ क्रियाकलापहरूमध्ये ५१९ क्रियाकलाप सम्पन्न भई १२९ क्रियाकलाप चालू अवस्थामा रहेको छ ।
साथै सघन अनुगमन गरिने निकायहरूका ९९६ क्रियाकलाप र १ हजार ९०० माइलस्टोनहरू तय गरिएकोमा सो को ६५ प्रतिशत अर्थात १, २३६ वटा सम्पन्न भएको मध्ये समग्रमा ६३.२ प्रतिशत पुँजीगत खर्च भएको, आयात १३.३ प्रतिशत र निर्यात ८१.८ प्रतिशतले वृद्धि भएको छ ।
मन्त्रिपरिषदको कार्यालयका अनुसार प्रधानमन्त्री ओली र विभागीय मन्त्रीहरुबीच प्रमुख कार्यसम्पादन सूचकहरू सकारात्मक रहेको तथ्याङ्क सहित मन्त्रालय -निकायगत कार्यसम्पादनको प्रगति विवरण प्रस्तुतीकरण तथा कार्ययोजना कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपायका बारेमा छलफल र समीक्षा भएको छ ।
त्यसैगरी, प्रधानमन्त्री र विभागिय मन्त्रीहरु र मुख्यसचिवबाट चालू आर्थिक वर्ष २०८२÷८३ का लागि कार्यसम्पादन सम्झौता समेत सम्पन्न गरिएको छ । उनीहरुबीच चालु आर्थिक वर्षको कार्ययोजनामा ३९२ कार्यसम्पादन सूचकहरु, ७०३ वटा क्रियाकलाप र १ हजार ८८ वटा माइलस्टोनहरू रहेका छन् ।
गत साता प्रधानमन्त्री ओलीको सहभागीतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आर्थिक वर्ष २०८१÷८२ को मन्त्रालयगत वार्षिक बजेट कार्यान्वयनको समीक्षा भएको छ । यसका साथै प्रधानमन्त्री तथा मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ ।
प्रधानमन्त्री ओलीले विकास निर्माण र सेवा प्रवाहका काम द्रुतगतिमा अगाडि बढाउन; आयोजना ओगटी काम नगर्नेलाई नयाँ काम नदिने गरी कानुनी सुधार गर्न; फलाम, प्राकृतिक ग्याँस र युरेनियम जस्ता खानीको उत्खनन्लाई अगाडि बढाउने बताए । उनले कृषि र पशुपालनलाई व्यवसायिक रुपमा अगाडि बढाइ उत्पादन र निर्यात समेत वृद्धि गर्न; दक्ष जनशक्तिको विकास गर्न बताएका छन् । प्रधानमन्त्री ओलीले जनस्वास्थ्य सुधारका लागि निरोगी नेपालको अभियानलाई साकार पार्न तथा आमजनताले प्रत्यक्ष अनुभूति गर्ने र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सङ्कल्प हासिल गर्न सहयोग पुग्ने गरी आ–आफ्नो कार्यक्षेत्रमा मौलिक र रुपान्तरणकारी आयोजना पहिचान गरी योजनावद्ध रुपमा काम गर्न मन्त्री र मुख्यसचिवलाई निर्देशन दिए ।
बैठकमा माननीय उपप्रधानमन्त्री, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवम् सल्लाहकारहरु, मुख्य सचिव एवम् सचिवहरूको उपस्थिति रहेको थियो ।

