काठमाडौं । सूचीकृत जीवन बिमा कम्पनीहरुले गत वर्षको असारसम्म ५ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.८६ प्रतिशत कम हो । अघिल्लो वर्ष यी कम्पनीहरुले ६ अर्ब ३२ करोड नाफा कमाएका थिए ।
मुद्दती निक्षेपको ब्याजदर घट्दा बिमा कम्पनीहरुको आम्दानी प्रभावित भएको छ । बिमाहरुले थुप्रै रकम बैंकको मुद्दति खातामा जम्मा गरेका हुन्छन् । अहिले बैंकले मुद्दतिमा दिने ब्याजदर न्यून विन्दुमा झरेको छ । त्यसैले नाफामा पनि असार परेको देखिएको छ ।
यद्दपि, बिमाहरुले सेयर बजारलगायतका क्षेत्रमा पनि लगानी गरेका हुन्छन् । बजार बढ्यो भने नाफामा थप सुधार आउने सम्भावना पनि रहन्छ । यी कम्पनीहरुको खुद बिमा शुल्क संकलन १५.४५ प्रतिशतले बढेर १ खर्ब ६० अर्ब ५४ करोड पुगेको छ । अघिल्लो वर्ष उक्त शुल्क संकलन १ खर्ब ३९ अर्ब ६ करोड थियो ।
चुक्ता पुँजी तथा रिटेन्ड अर्निङ
सूचीकृत १२ जीवन बिमा कम्पनीमध्ये हिमालयन लाइफको चुक्ता पुँजी सबैभन्दा धेरै ९ अर्ब १४ करोड ३२ लाख रपैयाँ बराबर रहेको छ । दोस्रोमा, नेपाल लाइफको पुँजी ९ अर्ब २ करोड रहेको छ ।
समग्रमा १२ बिमाहरुको चुक्ता पुँजी ६७ अर्ब ८८ करोड पुगेको छ । यता, बिमाहरुको रिटेन्ड अर्निङमा ११ अर्ब ५ करोड रहेको छ । यसमध्ये सबैभन्दा धेरै रिटेन्ड अर्निङ एलआइसी नेपालको छ । ३ बिमाको उक्त कोषमा १ अर्ब भन्दा धेरै रकम जम्मा छ ।

बिमा शुल्क संकलन
नेपाल लाइफले सबैभन्दा धैरै ४७ अर्ब ६६ करोड रुपैयाँ बराबको बिमा शुल्क संकलन गरेको छ । यो अघिल्लो वर्षको भन्दा १८.८४ प्रतिशत धेरै हो । ५ वटा बिमा कम्पनीहरुको उक्त शुल्क संकलन १० अर्ब भन्दा धेरै छ । समग्रमा सूचीकृत बिमा कम्पनीहरुले १ खर्ब ६० अर्ब रुपैयाँ भन्दा धेरैको बिमा शुल्क संकलन गरेका छन् ।

नाफा
१२ जीवन बिमामध्ये सबैभन्दा धेरै नाफा कमाउनेमा नेपाल लाइफ अगाडि छ । यसले गत असारसम्म ६० करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७.३७ प्रतिशत धेरै हो । बिमाहरुले समग्रमा ५ अर्ब ५० करोड नाफा कमाएका छन् ।

प्रतिसेयर आम्दानी
प्रतिसेयर आम्दानी एसियन लाइफको सबैभन्दा धेरै छ । यसको उक्त आम्दानी १२.०४ रुपैयाँ छ । औसतमा बिमाहरुको इपीएस ८.५४ रुपैयाँ छ ।


